नन्दप्रसादले दुई अर्ब मागेका थिए : गृहमन्त्री

52
  •  
  •  
  •  

काठमाडौं, १३ असोज : उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनशन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपुर्ति दिएमात्र अनशन तोड्ने बताएको जानकारी दिएका हुन् । नन्दप्रसादको जीवितै छँदा यसबारे केही नबताएका गौतमले उनको मृत्युको एक सातापछि यस्तो दाबी गरेका हुन् ।

‘यो सरकारले धान्न सक्ने रकम थिएन । दुई अर्ब दिन नसकेकै कारण नन्दप्रसादको ज्यान गयो,’ उनले भने, ‘सरकारले निरन्तर न्याय दिलाउने प्रयास गर्दा पनि उहाँहरुले अटेर गरेर अनशन बसिरहेकाले यत्रो दुखद घटना हुनपुग्यो ।’ अधिकारी दम्पतीलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहँदा पनि नन्दप्रसादको ज्यान जोगाउन नसकिएको बताउँदै गंगामायाको जीवन रक्षाका लागि प्रयास गरिरहेको उनले जानकारी दिए । गृहमन्त्री गौतमले संसदीय समितिलाई यस घटनाबारे बिस्तृत जानकारी गराएका थिए ।

गोरखा फुजेलका यी दम्पतीका १७ वर्षे छोरा कृष्णप्रसाद तत्कालीन माओवादीले गोरखामा हत्या गर्ने थाहा पाएर घरबाट भागेका थिए । भागेर हजुरआमाको घर चितवन पुगेका उनलाई ०६१ सालमा तीन जना व्यक्तिले अपहरण गरी गोली हानेर हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । छोराको निर्मम हत्या भएपछि अधिकारी परिवारले अज्ञात समूहले हत्या गरेको भन्दै खोजी गरी कारवाही गरिदिन निवेदन दिएको थियो ।

अधिकारी दम्पतीले कारबाहीका लागि पहल गर्दा गर्दै ०६३ साल मंसिर ४ मा तत्कालीन माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता भएपछि यो घटना केही समय सेलाएको थियो । युद्धकालमा भएका सबै घटनाको मुद्धा फिर्ता लिने, जेलमा परेकालाई छोडिदिने, सत्य निरुपण बेपत्ता छानबिन तथा मेलमिलाप आयोग गठन गरेर मात्र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सम्झौता भएको थियो ।

यसै क्रममा अधिकारी दम्पत्तीका जेठा छोरा नुरप्रसादले आठ जना व्यक्तिलाई किटानी जाहेरी दिएपछि प्रहरीले त्यस सम्बन्धमा छानबिन सुरु गरेकाे थियाे । अधिकारी दम्पतीले आठै जनालाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गरेका थिए ।

०६९ सालदेखि बिभिन्न ठाउँमा धर्ना बस्न थालेका उनीहरुले ०७० साउन १६ देखि न्यायको माग्दै अनशन सुरु गरेका हुन् । मानबअधिकार आयोग, सरकारका उच्च अधिकारीहरुले सम्झाइ बुझाइ गरेर न्याय दिलाएरै छाड्छौ भनेपछि ४७ दिनमा उनीहरुले अनशन तोडेका थिए । तर सरकारले न्याय दिलाउन गरेको सम्झौता पुरा नगरेको भन्दै उनीहरु पुन ०७० कार्तिकको ७ गतेदेखि निरन्तर अनशनमा बसेका थिए ।

यसैक्रममा प्रहरीको अनुसन्धानबाट कृष्णप्रसादलाई गोली हानी हत्या गर्ने २ व्यक्ति ठहर गरियो । यी दुई व्यक्तिमध्ये एकको युद्धका क्रममा गोली लागि मृत्यु भइसकेको र अर्का एक रुद्रप्रसाद आचार्य बेलायतमा बसोबास गरिरहेको प्रहरीले पत्ता लगायो । प्रहरीले रुद्र आचार्यमाथि अदालतमा मुद्धा चलायो । अदालतमा बिचाराधिन मुद्धामा केही बोल्न नमिल्ने भन्दै तत्कालिन प्रशासनिक सरकार मौन रहेको थियो । राष्ट्रिय मानब अधिकार आयागले छानबीन गर्न केहीले रोक्दैन तत्काल कारवाही सुरु गर्नु भनी सरकारलाई निर्देशन दियो ।

यसैबारेमा छलफल गर्दागर्दै ती दम्पत्तीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सुचना आउन थाल्यो । उनीहरुलाई सम्पूर्ण खाद्य पदार्थको झोल दिएर बचाउने प्रयास भइरहेको थियो । लामो समयसम्म मुखबाट नखाएकाले पेट लगायत पाचन ग्रन्थीहरुले काम गर्न छोडिसकेको थियो । अन्तमा प्रयास गर्दागर्दै पनि सबै अंगले काम गर्न छोडिसकेपछि नन्दप्रसादको मृत्यु भएको हो । नन्दप्रसादको मृत्यु भएको सात दिन बितिसक्दा पनि शब बुझ्न कोही नआएको गृहमन्त्री गौतमले जानकारी दिए ।

‘गंगामायालाई अनसन तोडाउन निरन्तर प्रयास भइरहेको छ । मानब अधिकारकर्मी र सरकारका पदाधिकारीले पानी, जुस लगायत पिलाउने प्रयास गरिरहेका छन्,’ उनले भने ।

उनका अनुसार यो घटनाले राष्ट्रिय/अन्तराष्ष्िट्रय स्तरसम्म चर्चा पायो । रुद्रप्रसाद आचार्य लाई बेलायतबाट फर्काउन सकिएन । बेलायतको कानुनले आचार्यलाई अपराधी ठहर्दैन र अदालतबाट अपराधी पुष्टि भएपछि मात्र पक्राउ गरेर फर्काउन मिल्छ भन्ने जवाफ आएकाले हामीले तुरुन्तै कारवाही गर्न नसकेका हौ । अर्कोतिर एमाओवादीले आचार्यलाई पक्राउ गरे संसद अवरुद्ध गर्ने, भङ्ग गर्ने चेतावनी दिएको छ ।

सरकारले यस घटना सुल्झाउन धेरै प्रयास गर्दा पनि बिभिन्न कठिनाइका कारण सफल हुन नसकेको हो ।

समितिको छलफलमा सभासद्हरुले गंगामायाको सुरक्षाका लागि तत्काल पहल गर्नुपर्ने बताएका थिए । समितिमा सभासद् भोटनीदेबी खवास, सरवतआरा खानम, गीता क्षेत्री, कमला कुँवर लगायतले गंगामायाको जीवनरक्षाका लागि तत्काल कदम चाल्नु पर्ने बताएका छन् ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •