नेकपा स्थायी कमिटी बैठक केही मिनेट बसेर स्थगित

बाढीपहिरोमा परेकाको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन
186
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक मंगलबार बसेको छ । आठौँ पटकको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा समसामयिक विषयमा केही निर्णयहरु गर्दै बैठक स्थगित भएको छ ।

बैठकमा बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको हो । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बैठकमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो ।

प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराइएको छ ।
क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गरिएको छ ।

सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गरिएको छ ।

बैठकले चितवनको माडी स्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अब अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।


  •  
  •  
  •