नक्‍कली धनी खडा गरेर जग्गा बिक्री

125
  •  
  •  
  •  

काठमाडौं ७ पुस ।
नक्कली धनी खडा गरेर अर्काको जग्गा बिक्री गर्ने कार्यमा मालपोत कार्यालयकै कर्मचारीकै मिलेमतो देखिएको छ। चाबहिल महांकालस्थित मानबहादुर थापाको नाममा रहेको जग्गा २०६८ सालमा नक्कली धनी खडा गरेर बिक्री गरिएको थियो।

घटनामा संलग्न चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा भक्तपुरका भुवन थापा र खरिदार अर्घाखाँचीका रमेश ज्ञवालीलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो। थापा र ज्ञवालीले मानबहादुरको जग्गा नक्कली धनी खडा गरी महांकाल-६ स्थित १३१.८५ वर्गमिटर जग्गा बिक्री गर्न मुख्य भूमिका निर्वाह गरेको आरोप प्रहरीको छ।

उनीहरूले उक्त जग्गा २०६८ माघ १५ गते नक्कली मानबहादुरको कायम भएको निर्णय गरी फागुन २४ गते लमजुङ भोर्लेटारकी चन्द्रदेवी केसी र श्वेता कार्कीका नाममा रजिस्ट्रेसन पास गरी ४० लाखमा बिक्री गरेको पाइएको छ। नुवाकोट थानापतिका सुजन भेटवालले नक्कली मानबहादुरलाई मालपोतमा खडा गराएका थिए।

महानगरीय प्रहरी परिसर हनुमानढोका प्रमुख एसएसपी उत्तम कार्कीका अनुसार नक्कली मानबहादुर कार्की भने फरार छन्। जग्गाधनी मानबहादुरले जग्गा बिक्री गर्न मालपोतमा गएर बुझ्दा आफ्नो जग्गा थाहै नपाई बिक्री भइसकेको पाएपछि प्रहरीमा गुहार मागेका थिए। अनुसन्धानका क्रममा केसी र कार्कीले पुन: उक्त जग्गा २०६९ वैशाख २६ गते पूर्णलक्ष्मी चक्रधरलाई बिक्री गरिसकेका थिए।

‘घूस खाएर नक्कली वारेसनामा दिलाउने कार्यक्रमा नायब सुब्बा थापा र खरिदार ज्ञवालीलाई पक्राउ गरिएको हो’, एसएसपी कार्कीले भने। नायब सुब्बा थापा अहिले भूमिसुधार कार्यालय भक्तपुरमा र र खरिदार ज्ञवाली सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयमा रहेको परिसरले जनाएको छ।

प्रहरीले पक्राउ परेका सबैलाई किर्ते ठगीमा मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट म्याद लिइसकेको छ। फरार नक्कली मानबहादुरको खोजी भइरहेको कार्कीले बताए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •