काठमाडौं, १६ मंसिर(ओएनएस) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी एकीकरण गरिएको छ । ७ भौगोलिक र एक गैरभौगोलिक सहित ८ वटा प्रदेश कमिटीको नाम महासचिव विष्णु पौडेलले आइतबार सार्वजनिक गर्दैछन् ।
प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सचिवालयले टुंगो लगाइसकेकाले सार्वजनिक गर्न लागिएको महासचिव पौडेलको भनाई छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रदेश कमिटी एकीकरणको अन्तिम टुंगो लगाएपछि नाम सार्वजनिक गर्न लागिएको हो ।
सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै तोकिइसकेका छन् । सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ ।
पेशागत, मजदूर, विद्यार्थी, युवा र उद्योगी व्यवसायीहरुको विशेष जिल्ला कमिटीलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी समेत गठन गरिएको छ ।
विशेष कमिटीलाई प्रदेश कमिटीको मान्यता दिने निर्णय भएको सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिए ।
नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुँदैछन् ।
सचिवालय बैठकलगत्तै स्थायी कमिटी बसेर पार्टी एकीकरणका सबै काम टुंगो लगाउने भनिए पनि नेकपाको बैठक पुनः अनिश्चित भएको छ ।
यसैबीच प्रदेश कमिटी सदस्यहरुको टुंगो लगाउने क्रममा केही सिनियर नेताहरुलाई हटाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।