उपनिर्वाचनमा पार्टीलाई गम्भीर रुपमा धक्का लागेको नेकपाको निष्कर्ष

416
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका क्रममा पार्टीलाई गम्भीर रुपमा धक्का लागेको निष्कर्ष निकालेको छ ।

आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ‘२०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) आपसमा प्रतिष्पर्धा गरेको अवस्था थियो । अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्नुपर्ने थियो । त्यसमाथि प्रदेश सभाकै एक स्थान पनि हाम्रो हातबाट गुम्नुले परिणामलाई गम्भीरतापूर्वक लिनुपर्ने बनाएको छ । आपरुपमा यो परिणाम पार्टीका लागि उत्साहप्रद विल्कुल रहेन । बरु यो परिणामलाई पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी छ ।’

यस्तै नेकपाले भक्तपुरमा कांग्रेस र राप्रपाको गठबन्धनका कारण चुनाव हार्नुपरेको निष्कर्ष समेतद निकालेको छ ।
राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सामान्यतः पार्टी एकतामा ढिलाईका कारण लामो समयसम्म पार्टी कमिटीविहीन रहनु, संस्थागत रुपले जनपरिचालको अभाव हुनुको नकारात्मक प्रभाव निर्वाचन परिणाममा पर्न गएको छ । ठोस रुपमा हेर्दा भक्तपुर–१ (क) मा नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनले विजयका लागि निर्णायक भूमिका खेलेको देखिन्छ ।’

दाहालले आफ्नो प्रतिवेदनमा धरान र चितवन जिल्लामा भएको पराजयले पार्टीलाई विशेष धक्का दिएको उल्लेख गरेका छन् ।

‘स्थानीय तहमध्ये धरान उपमहानगरपालिका पराजय र चितवन जिल्लामा मुख्यतः भरतपुर महानगरपालिकाको १६ नं. वडामा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ,’ दाहालले राजनीतिक प्रतिवेदनमा भनेका छन् ।
यस्तै प्रतिवेदनमा २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरुलाई व्यवस्थित पार्न जोड गर्ने समेत उल्लेख छ ।

आगामी माघको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने, केन्द्रीय समितिको बैठकबाट तीन महिने ठोस कार्यक्रम निर्धारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरुमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने, प्रदेशका तर्फबाट सबै जिल्लामा भेला गर्ने, फागुन र चैत महिनामा सातैवटा प्रदेशमा बृहत् जनसभा आयोजना गर्नेलगायतका कार्ययोजना दाहालको प्रतिवेदनमा उल्लेख छ ।


  •  
  •  
  •