उपनिर्वाचनको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन नेकपाको निर्देशन

142
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बसेको छ ।
बैठकले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षासहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको बैठकले चुनावी रिपोर्ट पेश गर्न निर्देशन दिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समीक्षा हुनेछ ।

सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको बताइएको छ ।

उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक/एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको थियो ।

यसैबीच बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव राखेका थिए । बैठकले प्रधानमन्त्रीलाई सुस्वास्थ्यको कामना गरेको छ ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले जानकारी गराएका थिए ।


  •  
  •  
  •