प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य

सचिवालय बैठक आज बस्दै
103
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो ।

फाइल तस्बिर

प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
बिरामी भएपछि बिहीबारका लागि बोलाइएको नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न सचिवालयको बैठक बोलाइए पनि विभिन्न कारण बैठक सर्दै आएको छ । सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो ।

गएको मंगलबार पनि तयारी नपुगेको भन्दै बुधबारका लागि स्थगित गरिएको थियो ।  बुधबारका लागि सारिएको बैठक त्यसदिन पनि बस्न सकेको थिएन । बुधबार बिहान प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा सुरुमा ३२ वटा विभाग प्रमुख चयन गर्ने र बाँकी कार्यसूचीतर्फ अघि बढ्ने समझदारी भएको नेकपाका एक नेताले बताएका थिए ।

स्कुल विभागको विवाद कायमै रहेको बेला पूर्व एमालेमा भने विभागका नेतृत्वको विषषलाई लिएर पूर्वएमाले समूहमा विवाद बढ्दै गएको छ ।

स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले मुख्य रुपमा दावी गर्दै आएका छन् ।

अन्य विभागमा पनि विवाद कायमै रहे पनि पूर्व एमालेका भागमा परेका मजदुर, युवा र महिला विभाग तीव्र विवाद देखिन्छ । प्रधानमन्त्रीले मुख्य तीनवटै विभागमा आफूपक्षीय नेताका नाम अगाडि सारेका छन् ।

मजदूरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटाको नाम अगाडि सारेपछि विवाद शुरु भएको हो ।
यी तीनवटै नाममा माधव नेपाल पक्षधरले असहमति राखेका छन् । मंगलबार बसेको पूर्व एमाले पक्षधरको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले विभागमा नाम सिफारिस गरेका थिए ।

उनले स्कुल विभागमा पनि पूर्व एमाले पक्षको एउटै धारणा बनाउनुपर्ने भन्दै ईश्वर पोखरेलको नाममा सहमति जुटाएर अगाडि बढ्न गरेको प्रस्तावमा कुनै छलफल नै नभएको एक नेताले बताए ।
नेकपाका ३२ विभागमध्ये पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभाग परेका छन् ।


  •  
  •  
  •