नेकपाले पार्टी एकताको काम टुंग्यायो

143
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका बाँकी काम टुंग्याएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको मंगलबारको छलफलले एकताको कामलाई निष्कर्षमा पु¥याएको हो ।

छलफलमा पार्टीका ३२ वटा विभाग, सल्लाहकार कमिटी, जेष्ठ नागरिक मञ्चलगायत गठनका लागि भागबन्डाको समझदारी भएको छ । समझदारीअनुसार पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा विभाग लिने सहमति भएको छ ।

जेष्ठ नागरिक मञ्चमा सय जना पूर्वएमालेबाट र २१ जना पूर्वमाओवादीबाट सदस्य बनाउने समझदारी दाहाल र ओलीबीच भएको छ । उनीहरुबीचको यो समझदारीलाई आगामी साउन ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी भएको नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल पनि सहभागी भएका थिए । पार्टी महासचिव विष्णु पौडेलले एकता, एकीकरणसँग सम्बन्धित सम्पूर्ण विषयमा गृहकार्य सम्पन्न भएको जानकारी गराए ।
उनले भने, ‘छिट्टै बस्ने सचिवालय बैठकमा त्यो प्रस्तुत हुन्छ । त्यसलाई औपचारिक निर्णय गर्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष जेठ ३ गते एकता भएको थियो ।  १४ महिनासम्म पार्टी एकताका केही काम टुंगिन बाँकी थिए । विशेषगरी केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुंगिन बाँकी थियो ।

 


  •  
  •  
  •