नेकपा केन्द्रीय कमिटी बैठकः प्रचण्ड-नेपाल पक्षको दिउँसो, ओली पक्षको बिहान

378
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । प्रधानमन्त्री ओलीपक्षको बैठक बिहान ९ बजेका लागि र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

काठमाडौं कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड(नेपाल पक्षको बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेताहरुले बताएका छन् ।

प्रचण्ड–नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ । यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

यसैबीच, बहुमतले कारबाही गरे एकता भंगका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहले तयारी गरेको छ । बैठकमा सहभागी हुन भन्दै उपत्यका बाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाभित्र विवाद झन् चर्किएको छ ।


  •  
  •  
  •