नेकपामा नयाँ सहमति, अध्यादेश र दुबै अध्यक्षका आरोपपत्र फिर्ता हुने

431
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नयाँ सहमति कायम भएको छ । सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छ ।

त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको छ ।
सहमतिसँगै स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेपछि शुरु भएको नेताहरूले बताएका छन् ।

१ बजेका लागि तय भएको बैठक रोकेर केही नेताहरूले दुई अध्यक्षलाई मिलाउने प्रयास गरेका थिए । दुई अध्यक्षबीचको वार्तामा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, शङ्कर पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएका थिए ।

गएको २१ र २८ गतेको स्थायी कमिटी बैठककै निरन्तरता स्वरूप बुधबारको बैठक शुरु भएको हो । यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो ।

यसैबीच बुधबार प्रचण्ड–माधव नेपाल समूहका केही नेता ८० जना सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका थिए । संसद्को विशेष अधिवेशन माग गर्दै नेता भीम रावल, पम्फा भुसाललगायत नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

तर शितल निवासले भने त्यसलाई दर्ता गर्न नमानेको बताइएको छ ।


  •  
  •  
  •