नेकपा बहुमत सदस्यद्वारा बिहीबार बैठक राख्न प्रस्ताव

66
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पाँच सचिवालय सदस्यको मंगलबारको छलफलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अबको दुई दिन कुर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। धुम्बाराहीको सो बैठकमा जानुअघि पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।

प्रचण्डसहित सचिवालयमा रहेका पाँच जना नेताहरुले पार्टी कार्यालयमा गरेको सो अनौपचारिक बैठकमा बिहीबार राख्ने बैठकमा सहभागिताका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई पुनः आग्रह गर्ने निर्णय गरेको हो। प्रवक्ता श्रेष्ठका अनुसार बुधबार प्रधानमन्त्री ओलीको काठमाडौंबाहिर कार्यक्रम रहेका कारण पर्सी बिहीबारका लागि बैठक प्रस्ताव गरिएको हो। ओलीले हिजोसम्म र आज मंगलबार प्रचण्ड भेट्न जाँदा समेत बैठकका लागि सहमति नजनाएको श्रेष्ठले बताए।

 


  •  
  •  
  •