प्रचण्डले बोलाए सचिवालय बैठक

77
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि बहुमत सचिवालय सदस्यहरू आज भेला हुने तयारीमा छन्।

नेकपाभित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका हुन्।

बैठक मंगलबार दिउँसो ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिएकाछन्।

प्रचण्डले बैठक राख्ने तयारी गरेपछि मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए। सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकमत भएका छन्।

यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो। त्यसको भोलिपल्ट शनिबार बहुमत सचिवालय सदस्यले बैठकको सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए।


  •  
  •  
  •