प्रधानमन्त्री ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन आग्रह

36
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।

फाइल तस्बिर

शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले लिखित रुपमै बैठक बोलाउन आग्रह गरेका हुन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सो पत्र बुझाउन शनिबार बालुवाटार पुगेका थिए ।

दुई दिनभित्र बैठक बोलाउन पार्टी अध्यक्षलाई लिखित आग्रह गरेपनि ओलीले भने बैठक बोलाउनेबारे कुनै प्रतिक्रिया नजनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीलाई भेट्नु अघि उनीहरुले धुम्बाराहीमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि शनिबार बिहान आफु निकट नेतासँग छलफल गरेका थिए । ओलीले पछिल्लो स्थायी कमिटी बैठकका निर्णयहरु एकपछि अर्को गर्दै उल्लंघन गरेकाले उनले विकल्प दिनुपर्ने असन्तुष्ट नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने छलफलको औचित्य नभएको भन्दै बैठक बोलाउन अस्वीकार गर्दै आएका छन् । उनले पार्टी विभाजनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद चर्केको छ । केही समय यता दुबै पक्षले आफु निकटका नेताहरुको भेला गर्दै आएका छन् ।


  •  
  •  
  •