तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग

81
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।

फाइल तस्बिर

प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको समिक्षा गर्न सचिवालय बैठकको माग गरेका हुन् ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले गरेको भेट, राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा प्रचण्डले ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए । यिनै विषयमा छलफल गर्न प्रचण्डले सचिवालयको बैठक माग गरेका हुन् ।

पार्टीको बैठकमा एउटा गर्छु भन्ने तर व्यवहार अर्कै किन गरिरहुनभएको छ भनेर प्रचण्डले ओलीलाई प्रश्न सोध्नुभएको पनि स्रोतले जनाएको छ । यसअघिको सचिवालय र स्थायी कमिटिको बैठकको निर्णय विपरीत ओलीले एकलौटी गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई ११ दिनदेखि भेट्न मानेका थिएनन् ।

अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आएका थिए ।

पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाएका छन् । यसअघि ओली–प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो ।


  •  
  •  
  •