नेकपाको एकता टुंग्याउने कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई निर्देशन
143
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।


फाइल तस्बिर

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको छ ।

यस्तै बैठकले संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ । बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको हो ।

पार्टी एकताको बाँकी काम पूरा गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिवले सचिवालयमा ठोस प्रस्ताव पेस गर्न पनि निर्देशन दिइएको छ । बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।

आईतबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।

यस्तै प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको बताए । औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने उनको भनाइ थियो ।


  •  
  •  
  •