मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको तयारी, सचिवालयले तय गर्‍यो ४ कार्यसूची

67
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ।

पेरिसडाँडामा आइतबार बिहान ११ बजेदेखि ३ बजेसम्म बसेको केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको हो।

बैठकपछि  प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारको पहिलो एजेण्डा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मात्रै नीतिगत छलफल भएको बताए ।

उनका अनुसार सरकारलाई अझ प्रभावकारी बनाउने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएको छ।

यस्तै उनले चार कार्यसूची तय भएपनि पहिलो कार्यसूचीबारे मात्र थप छलफल भएको बताए ।

यस्तै संवैधानिक राजनीतिक नियुक्ति गर्न आधार तय गर्न कार्यसूची तय गरेको समेत उनले बताए।

एकीकरणका बाँकी कामका विषयमा पनि कार्यसूची तय भएको उनकाे भनाइ छ । यस्तै संगठन र विभागका निर्णयबारे पनि कार्यसूची तय भएको उनले बताए।

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने अर्का सचिवालय सदस्यले बताए। अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त छन्।उनले बैठकमा आफू र वामदेव गौतम सरकारमा जाने विषयमा भने कुनै छलफल नभएको बताए। बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्नेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।


  •  
  •  
  •