ओलीले विधि विपरीत बैठक स्थगित गरेको नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष

252
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीले विधि विपरीत स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष निकालेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थगित गरेका थिए । बहुमत सदस्य अर्थात २९ जना स्थायी कमिटीका सदस्य बालुवाटारमा जम्मा भएर छलफल गरेका थिए ।

बैठकले अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्को बैठक अध्यक्षद्वय ओली र दाहालको छलफलले तय गर्नेछ ।

उनले भने, ‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो। जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो ।’
आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए ।

श्रेष्ठले प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गरे पनि उनी नआएपछि आजको बैठक बसेको बताए।

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन्।


  •  
  •  
  •