नेकपा सचिवालय बैठक विना निष्कर्ष टुङ्गियो

204
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा लामो बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘आजको बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि पार्टीको आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा छलफल भयो । दुई अध्यक्ष र अन्य नेताबीच छलफल भइरहेको र सचिवालयले अझै छलफल गरेर पार्टी एकतालाई मजबुद बनाउने भन्ने विषयमा कुराकानी भयो । नेकपाले प्राप्त जनादेश अनुसार अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’

त्यस्तै पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्दै गर्ने विषयमा समेत बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भने ।

आइतबारको स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।

शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक–पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नसक्दा असार १८ गतेयता बारम्बार स्थगित हुँदै आएको छ ।


  •  
  •  
  •