बालुवाटार बैठक निष्कर्षविहीन, शुक्रबारको स्थायी कमिटी बैठक भने बस्ने

141
  •  
  •  
  •  

काठमाडौं । पार्टीभित्रका विवादमा सहमति जुटाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तीन शिर्ष नेताबीचको बिहीबारको बैठक बिना निष्कर्ष टुंगिएको छ।

फाइल तस्बिर

बिहीबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै तीनघण्टा छलफल भएको हो। तर छलफल बिना निष्कर्ष टुंगिएको एक नेताले जानकारी दिए । बैठक बिना निष्कर्ष टुंगिएपनि शुक्रबारको स्थायी कमिटी बैठक भने बस्ने भएको छ ।

आजै बिहान प्रचण्डसहित बहुसंख्यक सचिवालय सदस्य खुमलटारमा भेला भएका थिए । प्रचण्डनिवास खुमलटारमा भएको भेलाले स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको थियो ।

यसअघि दुई अध्यक्षले पटक–पटक छलफल गरेपनि सहमति जुटन सकेको छैन । विवादपछि पहिलोपटक तीन नेता एकै ठाँउमा बसेका हुन् ।

अध्यक्ष दाहाल र नेता नेपाल प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष छाडनुपर्ने र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।

ओली भने दुबै माग अस्वीकार गर्दै आएका छन् । ओलीको अडानका कारण वार्ताहरु परिणाममुखि हुन सकेका छैनन् ।

असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको हो ।


  •  
  •  
  •