बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल शुरु

243
  •  
  •  
  •  

काठमाडौं । पार्टीभित्रका विवादमा सहमति जुटाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तीन शिर्ष नेताबीच आज पनि छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब नेपालबीच छलफल भइरहेको छ।

फाइल तस्बिर

स्थायी समितिमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपामा देखिएको विवादमा नेताहरुले सहमतिको प्रयास गर्न लागेका हुन् । यसअघि दुई अध्यक्षले पटक–पटक छलफल गरेपनि सहमति जुटन सकेको छैन । विवादपछि पहिलोपटक तीन नेता एकै ठाँउमा बसेका हुन् ।

बालुवाटारमा जानु अगाडि प्रचण्डले आज बिहान खुमलटारमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँग सामुहिक छलफल गरेका थिए।

बुधबार पनि ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए। त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए।

साँझ दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरे।

अध्यक्ष दाहाल र नेता नेपाल प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष छाडनुपर्ने र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।

ओली भने दुबै माग अस्वीकार गर्दै आएका छन् । ओलीको अडानका कारण वार्ताहरु परिणाममुखि हुन सकेका छैनन् । नेताहरुबीच सहमति नजुटे भोलीका लागि बोलाइएको स्थायी समिति बैठक पनि पुन स्थगित हुने सम्भवना छ ।

असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको हो ।


  •  
  •  
  •