नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक शुक्रबार बस्ने

167
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।

फाइल तस्बिर

तर बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको छ ।

मंगलबार दुई अध्यक्षद्वयबीच स्थायी कमिटी बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच संवाद जारी राख्ने सहमति भएको थियो ।

यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।

प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन्।

पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएको नेताहरुले बताएका छन्।

समस्या समाधानका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ । मंगलबार पनि वार्ता गरेका ओली–प्रचण्डले बुधबार पनि छलफल गर्ने जनाइएको छ।


  •  
  •  
  •