नेकपाका दुई अध्यक्षको वार्ता सकियो, भोलि पुनः छलफल गर्ने

55
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको वार्ता सकिएको छ।

बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हुन्।

विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुने बताइएको छ ।

त्यस्तै दुई पक्षबीच असमझदारी बढाउने गतिविधि नगर्ने सहमति भएको बुझिएको छ । पार्टीभित्र प्रधानमन्त्रीको राजीनाम मागसहित विवाद चर्किएपछि दुई अध्यक्षबीच पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र दाहाल समूहका तर्फबाट उर्जा मन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए ।

प्रधानमन्त्रीसँग भेट्नअघि अध्यक्ष दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसहितले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सोमबारसम्मको लागि स्थगित भएको छ ।


  •  
  •  
  •