वरिष्ठ नेताहरुले ओलीसँग मागे भारतले सरकार ढाल्न खोजेको प्रमाण

52
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चौथो दिनको स्थायी समिति बैठकमा वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्तिको प्रमाण मागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य मामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति स्पष्ट पार्न माग गरेका हुन् ।

फाइल तस्बिर

बैठकको सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कसरी आयो, यो गम्भीर विषयमा को सक्रिय रहेको हो, नेताहरुलाई जानकारी दिनुपर्ने बताएका थिए।त्यसलगतै वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशय राखेको एक नेताले जानकारी दिए।

समितिमा बोल्दै नेता खनालले सरकार ढाल्न भारतीय सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे।

त्यसलगत्तै उपाध्यक्ष वामदेव गौतम बोलेका थिए। उनले प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो, दूतावासका को–को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकै बेला स्थायी समिति बैठकमा पनि यस विषयले प्रवेश पाएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको उनको भनाइ थियो । खासगरी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई संविधानमा समेत समेटिएका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप उनले लगाएका थिए ।


  •  
  •  
  •