नेकपा स्थायी कमिटी बैठकः सात वटा एजेण्डा तय

344
  •  
  •  
  •  

काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले शुक्रबारको बैठकका लागि सात वटा एजेण्डा तय गरेको हो ।

नेकपाले कोरोना संक्रमण नियन्त्रण, सरकार र पार्टीका कामको समिक्षा, सीमा समस्या समाधान, मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसीसी’ विवादलाई बैठकको एजेण्डा बनाएको छ ।

त्यस्तै बैठकमा रुकुम घटना, नागरिकता सम्बन्धी विधेयक, कोरोना संकट अवधिभर संघीय र प्रदेशसभा सदस्यले बैठक भत्ता नलिने विषयलाई पनि छलफलको एजेण्डा बनाइएको छ ।

बुधबारको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टी र सरकारको कामबारे खुलेर धारणा राख्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।

अर्को बैठकबाट सदस्यहरुले अध्यक्षद्वयले प्रस्तुत गरेका सात बुँदामा आधारित भएर धारणा राख्ने क्रम शुरु हुनेछ । यसअघि बैशाख २५ र ३१ गतेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगीत भएको थियो । यसअघि गत पुसमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।


  •  
  •  
  •