नेकपाको कार्यविभाजन टुंगियो

स्कुल विभागमा पोखरेल, संगठनमा गौतम
109
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विभागको जिम्मेवारी टुंग्याएको हो ।

फाइल तस्बिर

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।

बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको छ । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दाबी थियो ।

सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।
नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ ।

नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ ।

त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।  बैठकले प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिइएको छ । प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रदेश ४ मा किरङ् गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र प्रकाश भट्टलाई जिम्मेवारी दिएको छ ।

१४ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विभागहरूको नेतृत्व टुंगो नलाग्दा एकता प्रक्रिया अल्झिएको थियो ।


  •  
  •  
  •