नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

84
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

 प्रधानमन्त्री केपी ओली आएपछि बैठक केही ढिला शुरु भएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले नेकपा सचिवालय बैठक शुरु भएको बताएका छन् । बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ।

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने बताइएको छ । अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त छन्।

सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको हो।

गत शुक्रवार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

 

 

 

 


  •  
  •  
  •