ओली–प्रचण्डबीचकाे वार्ता निष्कर्ष बिहीन, भोलि फेरि छलफल हुने

56
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

केही दिन अवरुद्ध भएर आइतबारबाट शुरु भएको दुई नेताबीचको संवादमा ठोस सहमति हुन सकेन ।

फाइल तस्बिर

अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् ।

नेताहरुबीच अडान कायमै रहेपछि जनैपूर्णिमाको शुभकामना आदानप्रदान गरेर मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।

बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र माधवकुमार नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो।

गत साउन १३ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठक निकै तिक्त बनेको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन।

ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।


  •  
  •  
  •