सरकारी कागजात किर्ते अभियोगमा तीन जना पक्राउ

981
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले नक्कली सरकारी कागजात एवं शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमती पत्र बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोंगबु टाउन प्लानिङमा श्रेष्ठ फोटो स्टुडियो सञ्चालन गर्दै आएका ओखलढुंगा घरभई हाल काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय सविन कुमार तोलाङ्गी, सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो संचालक चितवन,रत्ननगरका ३४ वर्षका अमृत सुर्खेती र बसुन्धारास्थित दुवाडी डिजिटल फोटो स्टुडियोको संचालक २६ वर्षका मधुसुदन दुवाडी रहेका छन् ।

अवैध रूपमा नक्कली कागजातहरू बनाई सर्वसाधारणबाट ठुलो रकम असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुको फोटो स्टुडियोमा छापामारी पक्राउ गरिएको सीआइबीका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट लेटर प्याडमा तयार भएको पुलिस रिर्पोट, प्लस टु को ट्रान्सकिप, प्रोभिज्नल सर्टिफिकेट, म्याग्रेसन सर्टिफिकेट, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू, काठमाडौं महानगरपालिकाको सहिछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयका लेटर प्याडमा लेखिएको पत्रहरू, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थाई लेखा नम्बरको प्रमाण पत्र बरामद भएको छ ।

उनीहरु दोषी ठहर भएमा ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसूर अन्तर्गत दफा २७६ बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँ सम्म जरिवाना हुनेछ ।


  •  
  •  
  •