आलु–प्याज भित्रिए इन्धनका गाडी रोकिए

176
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक । भारतको नाकाबन्दीपछि पूर्वी नाकाबाट कम आवश्यकताका उपभोग्य वस्तु मात्रै बढी भित्रिएका छन् । भारतले आफ्नो देशमा उत्पादन भएका खाद्य सामग्री र कच्चा पदार्थ मात्रै नेपालतर्फ निर्यात गरेको छ । ‘छिटै बिग्रिने आलु, प्याजलगायतका दैनिक उपभोग्य वस्तु मात्रै नेपाल भित्रिरहेका छन्, धेरै मालबाहक ट्रक तरकारी र फलफूलका छन्,’ मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले भने । पेट्रोलियम पदार्थ थोरै परिमाणमा यो नाकाबाट भित्रिएको छ ।

अहिलेसम्म ५५ लाख नौ हजार लिटर इन्धन नेपाल भित्रिएको आयल निगमको तथ्यांक छ । भन्सार स्रोतका अनुसार पूर्वी नाकाबाट मेची अञ्चलका लागि दैनिक १५ देखि २० ट्यांकर पेट्रोलियम पदार्थ झापा भित्रिने गरेको थियो । नाकाबन्दीका बीचमा सबैभन्दा बढी ३२ लाख ९४ हजार लिटर डिजेल भित्रिएको छ ।

त्यस्तै, १६ लाख ७९ हजार लिटर पेट्रोल, चार लाख लिटर हवाई इन्धन, एक लाख ३६ हजार लिटर मट्टीतेल र नौ लाख ९७ हजार किलो खाना पकाउने ग्यास भित्रिएको छ । ६ दिनयता भारतीय पक्षले काँकडभिट्टाबाट पेट्रोलियमको एउटा ट्यांकर पनि नेपाल छिर्न दिएको छैन । इन्धन लोड भएका ३८ ट्यांकर भारतको पानीट्यांकी नाकामा बसेका छन् ।

जोगबनी : ट्यांकर पारि नै अड्किए

एक सातादेखि जोगबनी नाकाबाट इन्धन बोकेका सवारीसाधन नेपाल भित्रिन पाएका छैनन् । भारतपट्टि सयौँको संख्यामा डिजेल, पेट्रोलका ट्यांकर र ग्यास बुलेटको जाम लागे पनि तिनलाई नेपाल पठाउन भारतले मानेको छैन । बिहारको चुनावको कारण देखाउँदै भारतले ३ नोभेम्बर साँझदेखि विराटनगर–जोगबनी नाका सिल गरेको थियो । नाका सिल हुनुअगावै ५० भन्दा बढी इन्धन बोकेका ट्यांकर नेपाल भित्रिने तयारीमा रहे पनि भारतले आउन दिएन । शुक्रबार नाका खोले पनि शनिबारसमेत ट्यांकरहरू नपठाएको विराटनगर भन्सारका अधिकृत राजेश ढुंगानाले बताए । शुक्रबार २८ र शनिबार आठ मालबाहक ट्रक भने भित्रिएका छन् ।

नेपालगन्ज : एक बुलेट ग्यास आयो

सामान्य अवस्थामा दैनिक ७५ देखि सयसम्म मालबाहक सवारीसाधन भित्रिने नेपालगन्ज नाकाबाट अचेल १०–१२ वटा गाडी मात्रै भित्रिने गरेका छन् । गत सोमबारदेखि सीमानाकाबाट सवारी आवागमनमा कडाइ गरिएको छ । यस नाकाबाट पेट्रोलियम पदार्थ बोकेका सवारी भित्रिन सकेका छैनन् । शनिबार १२ वटा सवारी नेपाल भित्रिएका छन्, त्यसमध्ये एउटा ग्यास बुलेट रहेको छ । सोमबारयता पहिलोपटक पेट्रोलियम पदार्थका रूपमा ग्यास भित्रिएको हो । फलफूल, तरकारी, चामललगायतका खाद्यान्न बोकेका ट्रक मात्रै भित्रिएका छन् । नेपालबाट भारततर्फ जाने गाडीलाई भने कुनै रोकतोक छैन । यताबाट जाने सवारीले जडीबुटी, मासु, पिनाजस्ता सामग्री भारततर्फ लैजाने गरेका छन् ।

नयाँपत्रिकाबाट


  •  
  •  
  •