जोलीलाई ओलीको प्रश्न: नाकाबन्दी किन?

72
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर ।
प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दल भारतीय जनता पार्टीका नेता विजय जोलीसँग भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाएर सहयोगी मित्रको परिचय दिन आग्रह गरेका छन् । नेता जोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विषयमा नो कम्प्रोमाइज। तत्काल नाकाबन्दी खोल्दै सहयोगी मित्रको परिचय दिनु होस्।’ ओलीले नाकाबन्दी किन र केका लागि गर्नुपरेको भनेर जोलीसँग जिज्ञासा राखेका थिए।

मधेसमा जारी आन्दोलन नेपालको विषय भएकाले त्यसले चाँडै निकास पाउने विश्वास ओलीले दिलाएका थिए । नाकाबन्दीका विषयमा भारतसँग कुनै सम्झौता हुन नसक्ने ओलीको भनाइ थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार जोलीले नेपालका जारी नाकाबन्दीबारे प्रधानमन्त्रीसँग जानकारी लिएका थिए।

खुलाइदिन पौडेलको आग्रह
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भारतीय सीमामा देखिएको समस्याका कारण पारवहनमा परेको समस्या अन्त्य गर्न भारतीय जनता पार्टीका नेता विजय जोलीसँग आग्रह गरेका छन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा पौडेलले सीमा नाकामा उत्पन्न आपूर्ति असहजताले मानवीय संकट देखिन थालेको भन्दै त्यसलाई सहज बनाउन जोलीसँग आग्रह गरेका हुन्। ‘भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाबारे छलफल भयो’, भेटपछि पौडेलले भने।

पौडेलले मधेसमा देखिएको समस्या समाधान गर्न सहमतिका आधारमा समस्या समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गरेका थिए।

‘समाधानको साँचो काठमाडौंमै छ’
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा उत्पन्न समस्या समाधानको साँचो नयाँदिल्लीमा नभई काठमाडौंमै रहेको बताएका छन्। ‘नेपालीहरूको समस्या नेपालले नै सम्बोधन गर्नुपर्छ।

समस्या समाधानको साँचो नयाँदिल्लीमा छैन, काठमाडौमै छ, नेपालीले यहीं खोज्नुपर्छ, हामीले होइन’, जोलीले राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा भने। भारतले नेपालमा घोषित वा अघोषित कुनै पनि रूपमा आर्थिक नाकाबन्दी नलगाएको दाबी गर्दै उनले नेपालमा बढ्दो असुरक्षाका कारण भारतीय निजी सवारी चालक प्रवेश गर्न नमानेकोले यस्तो अवस्था आएको बताए।

उनले भने, ‘सामान बोकेका निजी सवारीसाधनका चालकहरू सुरक्षाको कारण देखाउँदै नेपाल जान चाहँदैनन्। सुरक्षा भयो भने उनीहरू नेपाल आउन तयार छन्।’

जोलीले भाजपाकै सांसद कीर्ति आजादले नेपालको तराईका १५ जिल्ला भारतीय भूमि भएकाले त्यसलाई नेपालले फिर्ता गर्नुपर्ने अन्यथा त्यसलाई बलपूर्वक लिनुपर्ने भनी आएको भनाइलाई उनको निजी धारणा भन्दै त्यसमा आफू, भारतीय जनता पार्टी र भारतसरकार सहमत नरहेको स्पष्ट पारे।

जोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •