नाका खुकुलो हुँदै

291
  •  
  •  
  •  

काठमाडौं २५ मंसिर ।

काँकडभिट्टाबाट भित्रिए इन्धनका २० ट्यांकर मेची भन्सार कार्यालयका अनुसार बिहीबार पूर्वी नाकाबाट इन्धनसहित एक सय नौवटा मालबाहक सवारी नेपाल प्रवेश गरेका छन् । पेट्रोलका चार, डिजेलका १३, मट्टीतेलका दुई र हवाई इन्धन एक गरी २० वटा ट्यांकर भित्रिएका हुन् । बुधबार तेस्रो मुलुकबाट आएका कन्टेनरसहित एक सय ५६ मालबाहक सवारीसाधन नेपाल भित्रिएका थिए । तीन दिनयता नाकाको अवस्था सहजतातर्फ उन्मुख भएको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए । तर पनि बिहीबार साँझसम्म पानीट्यांकी नाकामा अझै साढे चार सय मालबाहक सवारीसाधन नेपाल प्रवेशको पर्खाइमा छन् ।

जोगबनीबाट आए इन्धनका ५३ ट्यांकर

विराटनगर–जोगबनी नाकाबाट बिहीबार ५३ वटा इन्धनका ट्यांकर नेपाल प्रवेश गरेका छन् । विराटनगर भन्सारका अनुसार १४ ग्यास बुलेट, २८ डिजेल, ११ पेट्रोल तथा एक सय ७० वटा मालबाहक सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार मंगलबार सो नाकाबाट २ सय ५३ मालबाहक ट्रक–कन्टेनर आएका थिए भने बुधबार २५२ मालबाहक ट्रक–कन्टेनर भित्रिएका थिए । यो नाकाबाट सामान्य समयमा २ सय गाडी आउने गरेका थिए ।

इन्धनका ५० गाडी रुपैडियाबाट आए

नेपालगन्जको रूपैडिया नाका बिहीबार बिहानदेखि खुकुलो भएको छ । बिहीबार साँझ ६ बजेसम्म यो नाकाबाट डिजेलका ३४, पेट्रोल ५, हवाई इन्धन ४ ट्यांकर र ग्यासका सात बुलेटसहित दुई सय ५० वटा गाडी नेपाल भित्रिए । मंगलबार ४९ र बुधबार ६१ मालबाहक ट्रक–कन्टेनर आएका थिए ।

सुनौलीबाट मालबाहक गाडी बढी भित्रिए

रूपन्देहीको बेलहिया नाका अझै सहज भएको छैन । बिहीबार दुई ग्यास बुलेटसहित ६० वटा गाडी अपराह्न ५ बजेसम्म नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेलले जानकारी दिए । सीमापारि दुई हजारभन्दा बढी गाडी लाइनमा छन् । भारतीय प्रहरीले जबर्जस्ती पैसा मागेर गाडी छाडेको गुनासो बढेपछि नेपाल र भारतका भन्सार एजेन्टले सहज बनाउन लाइनमा बसेका गाडीका लागि टोकन वितरण गरिएको छ ।

बेलहिया नाका हुँदै दैनिक तीन सयदेखि चार सय मालबाहक ट्रक तथा ४० वटाजति इन्धनका ट्यांकर आउने गरेका थिए । भारतीय पक्षले दैनिक सयको हाराहारीमा मात्रै गाडी नेपाल आउन दिएको छ । त्यसरी आउने गाडीमा आलु–प्याज, तरकारी, फलफूल, चामल बढी छन् । मंगलबार यो नाकाबाट ७७, बुधबार ६२ मालबाहक गाडी आएका थिए । त्यसमा ग्यासका १३ बुलेट छन् ।

धनगढीबाट इन्धनका १५ सहित ६८ गाडी भित्रिए

सुदूरपश्चिम क्षेत्रको प्रमुख व्यापारिक नाका धनगढीबाट पनि सहज रूपमा मालसामान आउन थालेका छन् । मंगलबार यो नाकाबाट ६४ र बुधबार ६२ मालबाहक ट्रक–कन्टेनर आएका थिए । बिहीबार राति ९ बजेसम्म यो नाकाबाट ६८ वटा गाडी आएका छन् । त्यसमा डिजेलका १२, पेट्रोलका २ र हवाई इन्धनको एउटा ट्यांकर आएको छ । यो नाकाबाट सामान्य समयमा ५०–६० गाडी आउाथे ।

वीरगन्ज नाका ठप्पै

भारतले नाकाबन्दी थालेदेखि मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार ठप्प छ । वीरगन्ज नाकाबाट कुल आयातको ७० प्रतिशत इन्धन भित्रिने गरेको थियो ।  नयाँपत्रिकाबाट


  •  
  •  
  •