निर्मली अर्थात निरु खड्काका आनीबानी

260
  •  
  •  
  •  

कलाकार बन्ने रहर धेरैलाई हुन्छ । स्कुले जीवनदेखि नै कलाकार बन्ने सपना देखेकी निरुले पनि आफ्नो सपना साकार पार्न सानैदेखि नाटक खेल्दै आएकी थिइन् । एसएलसी सकिनासाथ लालिगुरास कलाकेन्द्रमा डान्स सिक्दै गर्दा धेरै चलचित्रमा कोरस डान्स गर्ने सौभाग्य उनले पाइन् । नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिचलचित्र  थोरै भए पुगिसरीबाट अभिनय यात्रा थालनी गरेकी उनी सोही टेलिचलचित्रबाट आमदर्शकको मनमा राज गर्न सफल भइन् ।

त्यसपछि लगातार तीतो सत्य, चाहना मनको, मेरी बास्सैजस्ता लोकप्रिय टेलिचलचित्र उनको हात पर्न थालेपछि ती टेलिचलचित्रले उनको कलाकारितालाई निकै परिस्कृत तुल्याउन मद्दत मिल्यो । ताल, ख्यालख्यालैमा, माइली, तिमी नै बस्यौ मेरो मनमा लगायतका ठूलो पर्दाका चलचित्र र झन्डै २०–२५ वटा म्युजिक भिडियोका साथै विभिन्न विज्ञापनमा अभिनय गरिसकेकी निरु मेरी बास्सैकी धुर्मुसकी दिदी अर्थात् निर्मलीको नामबाट आफूलाई धेरैले चिन्ने गरेको बताउँछिन् ।

स्वास्थ्यका लागि हरप्रकारले फिट्नेस रहन कोशिश गर्छिन् उनी । सुन्दरताका लागि भने धेरै कस्मेटिक्स प्रोडक्ट छालामा प्रयोग नगर्ने उनी बताउँछिन् । भन्छिन्– ‘मेरो स्किन निकै सेन्सेटिभ भएकाले कस्मेटिक्स प्रोडक्टको एलर्जी नै छ भन्दा फरक पर्दैन । त्यसैले स्किनलाई सफा र चम्किलो राख्न हप्तामा एकपटक दूधको तरले मसाज गर्छु, बेसन र मकैको पीठोले फेस धुने गर्छु, जसको कारण मुहारमा प्राकृतिक चमक आउँछ ।’

लाखौं युवाहरुको रोजाइमा परेकी मेरी बास्सैकी यिनै निर्मली अर्थात् निरु खड्का आफ्नो दैनिकी कसरी बिताउँछिन् त ? हेरौं उनको एक दिन ।

निरु खड्का कलाकार

बिहान ५ बजे
निरु सधैँ बिहान ५ बजे उठ्ने गर्छिन् । बिहानको ५ बजेदेखि सवा ६ बजेसम्मको समय उनी मर्निङ वाकमा बिताउने गर्छिन् । त्यसपछि घर फर्किएर आफ्नो नित्यकर्म सकेर झन्डै ९ बजेसम्म किचनको काममा व्यस्त रहने गर्छिन् । आफ्नो काम आफैं गर्न रुचाउने उनी भन्छिन्– ‘म भान्साको काम आफैं गर्न रुचाउँछु, त्यसैले बिहानको ९ बजे मेरो भान्सामा भुजा तयार भैसकेको हुन्छ ।’ निरुको भान्सामा बिहान नियमित नेपाली खाना  दाल, भात, तरकारी नै पाक्ने गर्छ । हरियो सागपात र  दही–दूध निकै मन पराउने भएकाले आफ्नो खानामा साग र दही कहिल्यै नटुट्ने उनी बताउँछिन् ।

बिहान १० बजे 
दिउँसो सुटिङ परेको दिन निरु प्रायः सुटिङमै व्यस्त रहने गर्छिन् । सुटिङ नभएको दिन भने स्युचाटारस्थित आफ्नै कम्पनी स्तुति क्रिएसनमा ड्रामा, कम्पोज, कन्सेप्ट क्रिएसनजस्ता काममा व्यस्त रहने बताउँछिन् । उनी भन्छिन्– ‘दिउँसो सुटिङ नभएको दिन आफ्नो अफिसलाई समय दिन्छु, सुटिङ हुँदा भने समय छोट्याउने गर्छु ।’

दिउँसो २ बजे
दिउँसोको २ बजे निरुको लन्चको समय हो । सुटिङमा भएको बेला फिक्स टाइम नभए पनि बिहानको खाना चाँडै खाने भएकाले निरु २ बजेको समय लन्चका लागि छुट्याउने गर्छिन् । तर लन्चमा के लिने भन्ने कुरा अगाडि कहिल्यै निर्धारण नहुने उनी बताउँछिन् । ‘मेरो बेस्ट त मम नै हो, त्यसैले म प्रायः मम खान रुचाउँछु । त्यसमाथि पनि म भेज परिकारलाई बढी प्रायोरिटी दिने भएकाले भेज मम नै खान मन पर्छ ।’

साँझ ५ बजे
जाडो मौसममा साँझको ५ बजे र गर्मी मौसममा ६ बजे निरु अफिसबाट निस्केर सीधै स्युचाटारस्थित आफ्नो घरमा पुगिसकेकी हुन्छिन् । घर पुगेर फ्रेस हुनासाथ उनी अढाइ वर्षीया छोरी स्तुतिसँग खेल्ने–रमाउने गर्छिन् । उनी भन्छिन्– ‘दिनभरि काममा व्यस्त रहने भएकाले छोरीको लागि समय निकाल्न चाहेर पनि सकिन्न, त्यसैले यो समय म केवल छोरी स्तुतिलाई दिन चाहन्छु यसकै लागि त म सबै काम सकेर ६ बजे घर आइसकेकी हुन्छु नि ।’

राति ८ बजे
रातको ८ बजे निरुको भान्सामा डिनर तयार भैसकेको हुन्छ । बेलुकाको खानाको लागि भने उनको भान्सामा नियमित रोटी, दाल फ्राइ, सिजनेबल करी बन्ने गर्छ । डिनरपछिको केही समय भने फेमेलीसँग बस्ने, कुराकानी गर्ने र दिउँसोको गतिविधिका बारेमा छलफल गर्नमै बित्ने गर्छ रे । बाँकी समयको बारेमा जानकारी दिँदै निरु भन्छिन्– ‘त्यसपछि छोरीलाई सुताएर केही समय इन्टरनेटमा बस्न र टेलिभिजन हेर्नका लागि छुटिन्छ । बिहान चाँडै उठ्नुपर्ने हुनाले १० देखि ११ बजेसम्ममा म सुतिसकेकी हुन्छु ।’

निरुलाई छ प्रश्न

१. स्वस्थ र फिट्नेसका लागि कस्ता उपाय अपनाउनुहुन्छ ?
म बिहान डेढ घन्टा नियमित हिँड्ने गर्छु । शरीर स्वस्थ राख्न प्रशस्त पानी पिउँछु । माछामासुलाई भन्दा सागसब्जीलाई प्राथमिकता दिई सादा खाना खान मन पराउँछु । स्कुटर सकेसम्म कम प्रयोग गर्ने र शारीरिक स्फूर्तिका लागि डान्स क्लासहरु लिने गर्छु । घरमा हुँदा भान्साको कामलगायत घरको सरसफाइमा आफूलाई निकै व्यस्त राख्ने बानी नै मेरो फिट्नेसको अर्को राज हो । काममा आफूलाई निकै व्यस्त राख्ने भएकाले त्यति धेरै एक्सरसाइजको जरुरत नै पर्दैन ।

२. हेल्दी लाइफका लागि ५ टिप्स दिनुपर्दा ?
–    सन्तुलित भोजन गर्ने, दैनिक खानामा हरिया सागपात र गेडागुडीलाई प्राथामिकता दिने ।
–    बाहिरका बढी चिल्लो र मसलादार खानेकुरा सकेसम्म कम गर्ने ।
–    प्रशस्त पानी पिउने ।
–    बिहानको स्वच्छ वातावरणमा कम्तीमा १०० पाइला हिँडडुल गर्ने बानी बसाल्ने ।
–    दिनचर्या व्यवस्थित बनाउने, अनावश्यक तनाव र चिन्ता नलिने ।

३. आफ्नो सबैभन्दा राम्रो बानी ?
म हार्ड वर्क गर्न रुचाउँछु । स्वस्थ र फिट्नेस रहनका लागि निकै ध्यान पुर्याउने गरेकी छु । आफ्नो कामप्रति हन्ड्रेड पर्सेन्ट ध्यान केन्द्रित गरेर काम सम्पन्न गर्ने आदत भएकाले नै स्कुले जीवनदेखिको कलाकार बन्ने रहर पूरा भएको छ । पर्सनल लाइफ र प्रँेफेसनल लाइफलाई उत्तिकै महत्त्वका साथ लिने बानी छ मेरो । त्यसैले म खुसी पनि छु र सुखी पनि छु ।

४. अनि कमजोरी औंल्याउनुपर्दा ?
म जो–कोहीलाई छिटो विश्वास गर्छु । यही बानीले कहिलेकाहीँ आफूलाई नै अप्ठ्यारोमा पार्ने गर्छु । कसैप्रति नेगेटिभ धारणा बनिहाल्दैन मेरो माइन्डमा, यसले गर्दा सबैलाई आफूजस्तै सोचिन्छ । तर सबै मानिस एउटै नेचरका कहाँ हुन्छन् र ?

५. सफल जीवनका ३ सूत्र ?

–    राम्रो शिक्षा, संस्कार र सुखी जीवन बिताउनका लागि अनुशासन ।
–    समयको राम्रो व्यवस्थापन गरी समयअनुसार आफूलाई अपडेट गर्ने खूबी ।
–    नरम एवम् हँसिलो स्वभाव र सकारात्मक सोचाइ

साधनाबाट साभार


  •  
  •  
  •