नांगो सत्य

278
  •  
  •  
  •  

चुरोट स्वाट् स्वाट् तान्दै अमित कराउँछ, ‘अनिता ! चाँडो गर न हौ ! म त बोर भइसकेँ यार !’

लुरे ज्यानको अमित अगाडिको टी टेबलमा खुट्टा पसारेर आराम कुर्सीमा ढल्केर बसेको छ, बेल बेला हतारिएर चलपलाउँछ। शयनकक्षको ड्रेसिङ टेबलअगाडि टुलमा बसेर मेकअप गरिरहेकी अनिता कसिलो, छोटो मिनिस्कर्ट र स्किन टाइट स्लिभलेस भेस्टमा ठाँटिएकी छे।

अनिता उभिँदै भन्छे, ‘ल ल ! सकियो अब। थोरै फाइनल टच, ल?’

‘हरे ! अझ सकिएको छैन?’, अमित डबल बेडमा डङ्रङ्ङ जीउ फाल्दै बोल्छ।

अनिता पछाडि फर्केर टाउको ऐनातर्फ घुमाउँदै मुस्काउँछे। आफूलाई दायाँबायाँबाट हेर्छे, तलमाथिका ओठ खप्ट्याएर छाड्दै लिपस्टिक मिलाउँछे। दुवै हातले दुई वक्ष उचालेर आँखा झिम्क्याउँदै सोध्छे, ‘यो ड्रेस सेक्सी छ है, अमित? मलाई सुहाको छ कि छैन, हँ? भन त !’

बेड साइड टेबलमा आकर्षक टेबल ल्याम्पसँगै आफ्नो र अनिताको अँगालो मारेर हाँसेको तस्बिर नियालिरहेको अमित उठ्छ। अनितालाई पछाडिबाट अँगालोमा बेर्दै एेनामा हेरेर भन्छ, ‘च्वाँक देखिएकी छौ।

उत्तरआधुनिक सुन्दरी ! तर अनिता ! तयार हुन घन्टौं लाउने तिम्रो बानीचाहिँ ठीक छैन के ! झन् आज त तिम्रो सिँगारपटार सुरु गर्नै अबेर भो। किन ढिला आएकी?’

ड्रेसिङ टेबलमा छरिएका सौन्दर्य प्रसाधन खोस्रिँदै अनिता भन्छे, ‘ह्या ! कुरा नगर अफिसको। त्यो मेरो म्यानेजर छ नि? त्यसले हैरानै खेलाइसक्यो भनेको !’

अमित छक्क पर्छ, ‘किन नि? त्यही तालुखुइले अधबैंसे हैन तिम्रो म्यानेजर?’

अनिता खुइय्य गर्छे, ‘अँ। अब किन भन्नु नि ! उसको क्याबिनमा बोलाएर कस्टमर बस्ने सोफामा मलाई बसालेर चिया खान कर गर्छ। टाँसिदै भन्छ, कोमल युवतीजस्तो देखिनुहुन्छ !

कुनै विश्व सुन्दरीको झैं छ तपाईंको आकर्षक जीउ- ३६, २६, ३६। हा हा हा… हाउ क्युट यु आर !’बैंकको करिडोर र बाथरुम हुँदी एक्लै भेट्यो भने कुन सट्को मेरा पुठ्ठा सुम्सुम्याउन भ्याइसक्छ भुँडे मोरो ! गे हो जस्तो छ।’

अमित अँगालो खुकुल्याउँदै झर्कन्छ, ‘तिमीले मौकै किन दिन्छ्यौ? त्यसको सातो उडाउन सक्दिनौ?’

‘तिमीलाई भन्न पो सजिलो छ। मुख फर्काएर जागिर खतरामा पार्न सकिन्न अमित ! उसैको कृपाले बैंकमा सम्मानित क्यासियरको पदमा छु। आज पनि ‘अनन्तजी ! तपाईंलाई मोटरमा कोठा छाडिदिन्छु, म आज त्यही बाटो भएर जाने हो’ भन्यो। नाइँ भन्नै सकिनँ, के गर्नु। अनि उसलाई पर्खंदा अफिसमै ढिलो भइसकेको थियो।’

‘ओ माइ गड ! हेर अनिता, मान्छे चालूजस्तो छ त्यो। अलि होश गर है त्योसित।’

स्टिलको दराज बन्द गर्दै अनिता उदास बन्छे, ‘के होश गर्नु नि ! दस ठाउँबाट रिजेक्ट हुँदाहुँदा अनिकालको बेला बल्ल भेटेको इज्जतिलो जागिर, काम गर्नै पर्‍यो। अफिस जानै प:यो। हाकिमले जे गरे पनि सहनै पर्‍यो।

हाकिम गे भएर नै सायद मैले यो जागिर पाएकी हो, नत्र अन्त कति कोसिस गर्दा पनि काम हैन अपमान हात लाग्थ्यो मेरो। जे होस् ! अरूले झैं उसले कम्तीमा मेरो यौनिकताको खिल्ली उडाएको त छैन नि !’

अमित सम्झाउँछ, ‘हैन। मेरो मतलब, तिमीले आफ्नो बोल्ने तरिका र हाउभाउमा नियन्त्रण गर्नुपर्छ के ! तिमीलाई बैंकमा काम गरिरहेको देख्नेहरूले ट्रान्सजेन्डर भनेर अड्कल लाउन सक्छन्। रूप केटाको, भावभंगिमा चाहिँ केटीको देखेर।

अनिता गम्भीर हुन्छे, ‘हेर अमित ! मेरो केटी पाराको बोलीचाली र व्यवहारबारे कमेन्ट नगर। म भित्रबाटै केटी छु त के गरुँ? आदिम स्वभावलाई कसरी लुकाउन सक्छु? मलाई सम्पूर्ण चिनेर पनि यस्तो भन्छौ?’

‘ल ल। आ’म सरी ! सिरियस नहोऊ। भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा यस्ता फोकटिया कुरा नगरौं। जाऊँ अब, सातै बजिसक्यो।’

‘अनिता अमितको पाखुरा अँठ्याउँदै हाँस्छे र भन्छे, ‘ह्यापी भ्यालेन्टाइन्स डे स्विटहार्ट !’

त्रिदेवीमार्गको फुटपाथ हुँदै अमित र अनिता ठमेलतिर लम्कँदै छन्। साँझ झमक्क भइसकेको छ। हिमालयन जाभामुन्तिर सडकपेटीमा तीन युवक उभीउभी गफ गर्दैछन्।

अमितको पाखुरा च्यापेर मस्किँदै अनिता भन्छे, ‘क्या झुर् भो है अमित? साला ट्याक्सीले लुट्नसम्म लुट्यो आज । मैतीदेवीबाट यहाँसम्म आएको दुई सय पचास ठटायो।

अमित जिस्क्याउँछ, यो रूपकी रानीले खुसीखुसी दुई सय पचास रुप्पे दिन्छे भन्ठानेर होला नि ! मालदार सम्झेको हुनुपर्छ ट्याक्सी ड्राइभरले हामीलाई। हा हा हा…।’

अनिताको हाई हिल जुत्ताको ठक्ठक् आवाजले हिमालयन जाभामुन्तिर उभिएका केटाहरूको ध्यान तान्छ। एउटाले जिब्रो पड्काउँछ र अनितालाई देखाउँदै साथीहरूलाई भन्छ, ‘त्यो छक्का त हाम्रो गाउँको अनन्तेजस्तै छ।’

फेरि अनितालाई लक्ष्य गर्दै चर्को स्वरमा कराउँछ, ‘ओइ अनन्ते !’

अनिता र अमित नसुनेझैं गरेर हिँडिरहन्छन्।

अर्को युवक बोल्छ, ‘ह्या मुला ! त्यस्ती राम्री केटीलाई बेकारमा छक्का भन्छ। मैले त पत्याइनँ।’

‘हो भन्या। अनन्ते र मैले सँगै एसएलसी दिएको। पढाइमा तेज थियो। लुगाचाहिँ केटाको लाउँथ्यो, कामकुरो केटीको जस्तो गथ्र्यो। स्कुलमा पनि केटीहरूकै संगत मन पराउँथ्यो।’

बाँकी दुई युवक अविश्वासको बोली झिक्छन्, ‘हो र?’

अनितालाई चिन्ने केटोले बताउँछ, ‘अन्त के त ! एक बाजी त्यो अनन्ते काजीमानको फलैंचामा बसेर केटाकेटीलाई कथा सुनाउँदै थियो। ऊ दुवै हात नचाउँदै, बोलीको तालमा मुन्टो तलमाथि दायाँबायाँ हल्लाउँदै र आँखा झिम्झिम् पार्दै भन्दै थियो, ‘आँपको, रूखमा, साँप, बसेको, हेर।’

बोल्दाबोल्दै अनिताको गाउँले साथीले, पहिला दुवै हत्केला आँपको आकारमा पोक्याएर ठड्यायो। अनि दुई हात टाउकामाथि लगेर फैलाउँदै आँपको रूख बनायो।

त्यसपछि, दाहिने हात कुइनाबाट भाँचेर ठाडो पार्दै हत्केला कुप्य्राएर साँप बनायो, देब्रे हात दाहिनेको कुहिनामुनि राख्यो। अन्तिममा, साँप बनाएको हात चिउँडोमुनि ल्याएर अर्को हत्केला निधारमा टँसाएर घाम छेकेजस्तो गरी टाउको नचाउँदै र आँखा सन्काउँदै केही हेरेजस्तो अभिनय गर्‍यो।ु

उसका दुवै साथी फोक्सो फुलाएर हाँसे, हा हा हा…।

एउटाले भन्यो, ‘क्या हँसाउछ यसले पनि। तँ पो सोलिड छक्का देखिइस्।’

ऊ रिसायो, ‘चुप लाग् गधाहरू ! अनन्तेको चर्तिकला देख्दादेख्दा उसको जस्तै आदत बस्यो नि !’

‘अनि?’, उसका साथीले सोधे।

अनि मैले कराएर भनेँ, ‘ओइ अनन्ते ! तेरी आमाले बोलाकी छन् ! जा घर छिट्टो।’ मपट्टि फर्केर अनन्तेले दुवै हात फैलाएर छातीमा टाँस्दै बटारिएर सोध्यो, ‘कल्लाई? मलाई??’ उसलाई एक टक लाएर हेरिरहेका भुराहरू गलल हाँसे। मलाई झोक चल्यो। भुइँमा पिच्च थुक्दै कराएँ, ‘साला छक्का ! नौटंकी गर्छ।’

अर्कोले सोध्यो, ‘अनि त्यो केटी तेरो गाउँको अनन्त हो भनेर कसरी चिनिस् त?’

‘अनुहार काटीकुटी मिल्यो नि त ! त्यसमाथि मैले गाउँ जाँदा सुनेको- अनन्तेले राम्ररी पढ्यो, अहिले काठमाडौंको थापाथलीको बैंकमा क्यासियर छ। तर, नानीदेखिको बानी गएको छैन, दिनभरि क्यासियर अनन्तकुमार रात परेपछि सुन्दरी अनिता बनेर केटा साथीसँग ठमेल घुम्छ, डिस्कोथेकमा आधा रातसम्म नाच्छ।’

एउटा साथीले सहानुभूति पोख्यो, ‘उसोभा त हो कि क्या हो। तर विचराहरूको जिन्दगी कस्तो अधकल्चो है? न पूरै केटा न केटी !’

अर्को युवकले बतायो, ‘मैले एकपटक टीभीमा देखेको, यिनीहरूलाई सिँगारिन खुब ट्याम लाग्दो रैछ। झन्डै दुई घन्टा।’

अनन्तको साथीले उदेक मान्यो, ‘के गर्छन् होला त्यत्रो ट्याम लाएर।’

साथी चाहिँले ज्ञान बाँड्यो, साँच्चिकै केटीहरू त तयार हुन मनग्गे समय लिन्छन्, यिनीहरू त केटाबाट केटीमा फेरिनुपर्ने। व्याक्सिङ, थ्रेडिङ, विग सेटअप, मेकअप गर्नु, नक्कली बुब्स बनाउनु अनि माँसल हिप बनाउन भुक्के प्याडवाला पेन्टी लाउनु आदि इत्यादि। हा हा हा…।’

अनन्तको साथीले हाँस्दै जिस्क्यायो, ‘क्या हो, तँलाई त यिनीहरूबारे राम्रै जानकारी रैछ। तेरो केटी साथी पनि यस्तै हो कि कसो? शंका पो लाग्यो त !’

अर्कोले सही थाप्यो, ‘त्यही त भन्या !’

ज्ञान बाँड्ने केटो झर्कंदै ठमेलतिर सोझियो, ‘ह्या मुलाहरू ! टीभीमा त्यही दिन यिनीहरूको दिनचर्या डिटेलमा देखाको थियो क्या?’

उसका साथीले पनि हाँस्दै पछ्याए।

रातीको २ बजे अमित र अनिता ठमेलबाट निस्केर नारायणहिटीतिर लम्कँदै छन्। स्ट्रिट ल्याम्पको झलमल्ल उज्यालोमा बाटोछेउ उभिएको असईले अमित र अनितालाई नियालेर हेर्छ। तर, अमित र अनिता एकअर्काको हात समाएर प्रसन्न मुद्रामा असईलाई बाइपास गरेर अघि बढ्छन्।

अचानक असई कराउँछ, ‘ओइ ! तिमेरु दुईजना !’

अमित र अनिता हिँडिरहन्छन्।

असई फेरि कराउँछ, ‘ओइ ! सुनेनस् तिमेरुले? पर्खी।’

अमित रोकिन्छ र पछाडि फर्केर भन्छ, ‘हामीलाई भन्नुभाको?’

‘हो, तिमेरुलाई। यहाँ आइज।’

अमित र अनिता छक्क पर्दै असईनजिक आउँछन्।

असई सोध्छ, ‘कहाँबाट आ’को? अनि, अब कता?’

अनिता बताउँछे, ‘हामी रेस्टुरेन्टमा खाएर, साथीभाइसँग नाचेर, रमाइलो गरेर घर फर्कन लागेको।’

असई झन्कन्छ, ‘चुप् साला छक्का ! झूठ बोल्छस्? तैंले भन्दैमा मैले पत्याउँछु? तँ हिजडाहरूको धन्दाबारे सब था छ मलाई।’

अनितालाई असह्य हुन्छ। नडराईकन दह्रो स्वरमा भन्छे, ‘असई साप ! मुख सम्हालेर बोल्नुस् ! हामी पनि तपाईंजस्तै यो देशका नागरिक हौं। हो, म ट्रान्सजेन्डर हुँ।

तर मेरो पनि आफूखुसी बाँच्न पाउने तपाईंको जत्तिकै अधिकार छ। हामी यहाँ रमाउन आएका, धन्दा गर्न हैन। राम्रो जागिर छ, देहव्यापार गरेर खान परेको छैन।’

‘म्याटोक्ने ! मलाई डायलग हान्छस्? मेरो हातको यो डन्डा देख्याछस् साले? तेरो हग्ने ठाउँबाट यसलाई घुसारेर मुखबाट निकाल्दिन्छु, अनि चाल पाउँछस् म को हुँ भनेर। खुरुक्क पाँच हज्जार जरिवाना छेर्, धन्दा गरेको अपराधमा। नत्र लगेर खोरमा जाकिदिन्छु हिरो हिरोइनीलाई। मास्साला !’, असई आगो हुन्छ।

अमितलाई पनि सन्का चल्छ, ‘अति भो असई सा’प ! किन बिनसित्ती फत्तुर लाउनुहुन्छ? के एउटा स्वतन्त्र नागरिकले रमाउन नपाउने? सीधै घूस चाहियो भन्नुस् न ! हामीलाई मनपरी भन्ने र हेप्ने हक कसैलाई छैन, तपाईंलाई पनि…’

‘ओई रन्डीको पोइ ! तँ पाजी मसँग मुखमुखै लाग्ने? मार्दिऊँ? छक्काको दलाल साला !’ अमितको बोली नटुंगिँदै उसको कठालो समाएर एकातिर हुत्याउँदै असई चिच्याउँछ।

लिखुरे अमित अलि पर पेटीमा ढल्छ। असई फेरि अमितछेउ जान्छ र हातको लौरो अमितको टाउकोमा बजार्छ।

‘एेया आमा ! मरेँ नि !’ अमित हुरुक्क हुन्छ।

अमित ! अनिता दौडेर अमितछेउ पुग्छे र उसको टाउको काखमा राखेर उसको अनुहार सुम्सुम्याउँछे। रुन्छे।

अमितको टाउकोको चोटबाट रगत बग्न थाल्छ। अनिता रुमालले घाउ थिच्छे। वालेट खोलेर हजारका पाँच नोट निकाल्छे र असईतर्फ हुत्याउँदै कराउँछे, ‘ला, लैजा !

मेहनती नेपालीको पसिनाको कमाइ लैजा ! यो पैसाले तँलाई सुख हैन, कात्रो किन्न परोस् ! तँजस्तो राक्षसको देशलाई काम छैन। निर्धामाथि बज्रिने तेरो लाठी कसैले तेरै चाकमा घुसारिदेओस् ! पापी, असत्ती !’

असई छरिएका नोट टिप्दै हाँस्छ, ‘औंला टेढो नपारी तँ छक्काहरू टेरपुच्छर लाउँदैनस् त के गर्नु ! एलजीबीटीआईहरू ठमेल र झोंछेतिर धन्दा गर्न आउँछन् र अकुत पैसा कमाउँछन् भनेर कसलाई थाहा छैन?

आदर्शको डायलग दिन्छस् साला हिजडा ! त्यस्ता थाङ्ने सरापले छुने भए त म उहिल्यै हरियो बाँसको खटमा सुतेर आर्यघाट पुगिसक्थेँ। हा…हा …हा…।’

असई हिँडेपछि अनिता रुँदै अमितको जीउ हल्लाउँछे। बोलाउँछे, ‘अमित ! अमित, उठ न अमित !’

अमितले आँखा उघार्छ। आफूमाथि झुकेको अनिताको अनुहार सुम्सुम्याउँछ र आँसु पुछिदिन्छ। अनिता अमितको निधारमा चुम्बन गर्छे र रुन्छे नि:शब्द।

एकाएक अनिता भावुक बन्छे, ‘अमित ! यो धरती यो आकाश कसैको बाबुको बिर्ता हैन, कसैकी आमाको पेवा हैन। तिम्रो र मेरो पनि हो एकएक टुक्रा धरती, एकएक चोइटो आकाश !’

अमितलाई सुस्तरी उठाएर उभिन मद्दत गर्छे। अमितको चोट र पीडा कल्पेर उर्लेको उसको आँसु थामिँदैन। पर सडकछेउ पार्क गरेको ट्याक्सी बोलाउँछे र अमितसँगै ट्याक्सीमा बस्छे।

कोठाभित्र छिरेकी अनिताले हात लम्काएर ढोकाछेउको स्विचबोर्डमा थिच्छे। बत्ती बल्छ र शयनकक्षको घुर्मैलो अँध्यारो फाट्छ। अमितलाई सहारा दिँदै पलङमा सुताइदिन्छे।

अमित ओछ्यानमा उत्तानो परेर दुवै हात टाउकामाथि राख्छ र सिलिङमा हेर्दै टोलाउँछ। उसका आँखाबाट आँसुका धारा छुट्छन्। ऊ घोप्टो परेर घुँक्कघुँक्क गर्दै रुन्छ। अनिता अमितको जीउमा घोप्टिन्छे।

केही बेरपछि अनिता पलङबाट जुरुक्क उठ्छे। लाइराखेका जुत्ता खुट्टैले फुकालेर कुनातिर हुर्‍याउँछे। विग निकालेर भुइँमा फाल्छे। आवेशमा तौलियाले अनुहार रगड्न थाल्छे। रुँदै एेना हेर्छे। लतपतिएका गाजल, लिपस्टिक र जिङरिङ्ङ परेका छोटा केशले ऊ तर्साउनेजस्तो देखिन्छे।

टुलमा बसेर स्टकिङ्स फुकाल्छे। ब्रामा घुसारेका बलहरू निकालेर भित्तामा हिर्काउँछे। उत्तेजित बन्दै सबै लुगा फुकालेर एकातिर फाल्छे। अनि ऐनाअघिल्तिर अन्डरवेयरमा ठिंग उभिएको आफ्नो भयानक रूप हेर्दै चिच्याउँछे, ‘यही हो हाम्रो नांगो सत्य ! संसार हाम्रा लागि हुँदै हैन।’

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •