नागरिकता विधेयकः सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

322
  •  
  •  
  •  

काठमाडौं । नागरिकता विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि पाँच दिनको समय दिएको हो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्ष याता यो विधेयक रोकिएको छ ।

समितिमा मंगलबारबाट पुनः सुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको थियो । जसमा नेपाली कांग्रेसका सांसदहरुले थप छलफल गर्न समय मागेपछि बैठक बुधबारका लागि सारिएको थियो ।

सांसदहरुबीच सहमति जुट्न नसकेपछि गृहमन्त्री थापाले राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए । समिति सभापति शशी श्रेष्ठले चालु अधिवेशनबाट नै विधेयक पास गर्नका लागि जसरी भएपनि पाँचदिन भित्रमा सहमति जुटाएर आउन गृहमन्त्री थापालाई समय दिएकी हुन् ।

गृहमन्त्री रामबहादुर थापाले यसै अधिवेसनमा पठाउने गरी राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच नै सहमतिको आवस्यकता रहेको बताए ।

२०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक २०७५ भदौ ५ गते देखि समितिमा विचाराधीन छ । समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति जुटाउन नसक्दा विधेयक रोकिएको हो ।


  •  
  •  
  •