नागरिकता ऐन संशोधन विधेयक छिट्टै पारित गर्न माग

49
  •  
  •  
  •  

काठमाडौं । नागरिकता अधिकारका लागि नागरिक समाजको सञ्जालले नागरिकता ऐन संशोधन विधेयक चाँडोभन्दा चाँडो पारित गर्न माग गरेको छ ।

सञ्जालले एक विज्ञप्ति जारी गर्दै नागरिकता ऐन संशोधन विधेयक लामो समयदेखि पारित हुन नसक्दा यसले नेपालको संविधान अनुरुप नेपाली नागरिकता प्राप्त गर्न योग्य रहेका लाखौं व्यक्तिहरू समेत नागरिकता प्राप्त गर्नबाट वन्चित भएको भन्दै नागरिकता ऐन संशोधन विधेयक चाँडो पारित गर्न माग गरेको हाे ।

सञ्जालले राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक सम्बन्धी प्रतिवेदनमा लैङ्गिक समानता, यौनिक अल्संख्यक, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी नागरिक तथा स्थायी बसोबासको प्रयोजनको लागि भूमिहिन वर्गको दृष्टिकोणबाट अझ पनि माथि उल्लेखित कमि कमजोरीहरू रहेको हुँदा उक्त कमि कमजोरीहरूको पूर्णरुपले सम्बोधन गरि नेपाल नागरिकता ऐन संशोधन विधेयक पारित गर्न माग गरेको छ ।

सञ्जालले नागरिकताको अधिकारको हकमा नेपालको संविधानमा नेपाली महिला र नेपाली पुरुषविच भेदभावपूर्ण प्रावधानहरू रहेको हुँदा नेपाली महिला र नेपाली पुरुषविच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी गर्न समेत माग गरेको छ ।

सञ्जालले नेपाल नागरिकता ऐन संशोधन विधेयक पारित भएपछि तत्काल कार्यान्वयनको सुनिश्चितताको लागि ऐनमा हुने संशोधनहरू अनुरुपको नियमावली तथा निर्देशिका बनाउने लगायत अन्य प्रक्रियाको पनि शुरुवात गरी संशोधित नेपाल नागरिकता ऐनको तत्काल कार्यान्वयनको सुनिश्चितता गर्न माग गरेको छ ।

सञ्जालले नेपालको संविधानले नै नेपाली आमा र नेपाली बाबुाबिच विभेदपूर्ण प्रावधानको व्यवस्था गरेकोले नेपाली आमाहरूले आफ्ना सन्तानलाई वंशजको आधारमा स्वतन्त्ररुपमा नागरिकता दिनसक्ने प्रावधान नभएकोप्रति असन्तुष्टि समेत व्यक्त गरेको छ ।

 


  •  
  •  
  •