अंगीकृत नागरिकता पाउने फरक–फरक प्रावधानप्रति सञ्जालको ध्यानाकर्षण

288
  •  
  •  
  •  

काठमाडौं । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले नागरिकता विधेयकमा रहेको विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिला र पुरुषका जीवनसाथीले नागरिकता पाउने फरक–फरक प्रावधानप्रति ध्यानाकर्षण जनाएको छ ।


सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारीले एक विज्ञप्ति जारी गदै वंशजको अधिकार विवाहले हरण गर्न नसक्ने बताएकी छन् ।
विज्ञप्तिमा महिलाको विवाहका लागि आफ्नो जीवनसाथीको छनौट गर्न पाउने अधिकार कुण्ठित गर्न पाइँदैन भन्ने तथ्यलाई आत्मसात गर्दै यो प्रावधानमा संशोधन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी बाबुको सन्तानलाई बिना मापदण्ड र आमाका सन्तानलाई नागरिकता प्राप्त गर्न विविध मापदण्ड राख्नु पितृसत्तात्मक संरचनालाई अझै बलियो बनाउनु हो भन्ने तथ्य अङ्गिकार गर्दै त्यसमा अविलम्ब परिवर्तन गरेर मात्र विधेयकलाई कानूनी रुप दिन पनि सञ्जालले माग गरेको छ ।
त्यसैगरी विविध लंैगिक पहिचानका लागि चिकित्सकको सिफारिस ल्याउनुपर्ने प्रावधान अत्यन्तै हास्यास्पद रहेको भन्दै यसले व्यक्तिको मानव अधिकार उल्लङ्घन गर्ने र समानता सम्बन्धि संवैधानिक अधिकार हनन् गर्नुका साथै अपमानित गर्ने समेत सञ्जालले ठहर गरेको छ । सञ्जालले यसलाई तुरुन्तै खारेज गरि लैंगिक एवं यौनिक विविधता भएका नेपाली नागरिकहरुले आफुले इच्छाएको अनुसारको लिंग पहिचान सहितको नागरिकता प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

सञ्जालले विज्ञप्तिमा भनेको छ, ‘नेपालको संविधानले नेपालका हरेक नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको छ । तर अहिलेको यो नागरिकता विधेयकले नेपाल संविधानको प्रस्तावना, धारा १६–सम्मानपुर्वक बाँच्न पाउने हक,
१७–स्वतन्त्रताको हक, १८–समानताको हक र ३८–महिलाको हकको उल्लंघन गरेको छ । यसका साथै यौनिक तथा लैंगिक विविधता भएका व्यक्तिहरुलाई आफ्नो पहिचान स्थापित गर्न चिकित्सकीय सुझाव ल्याउनुपर्ने जस्ता प्रावधान राखि मानमर्दन गरेको छ भन्ने हामी मान्दछौँ ।’

यस्तै सञ्जालले विवाहित नेपाली महिला र पुरुषका लागि नागरिकता प्राप्त गर्न भिन्न भिन्नै मान्यता राखि नेपाली महिलाहरु यो देश र राज्यका लागि अझ पनि समान नागरिकका रुपमा छैनन् भन्ने राज्यमा स्थापित पित्तृसत्तात्मक सोचलाई पुष्टि गरेको छ गरेको जनाएको छ ।


  •  
  •  
  •