निगमको गैरजिम्मेवारीपन तत्कालै परिवर्तन गर्नुपर्ने’ : मन्त्री आचार्य

611
  •  
  •  
  •  

काठमाडौं,असार १७ (ओएनएस) । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीम आचार्यले नेपाल वायुसेवा निगममा देखिएको गैरजिम्मेवारीपनलाई तत्कालै परिवर्तन गर्नुपर्ने बताए । मंगलवार राजधानीमा आयोजित वायु सेवा निगमको १६औं बार्षिकोत्सव समारोहमा उनले यस्तो बताएका हुन् ।

‘जहाजको चक्का हराउने, यात्रुको सामानको उचित व्यवस्थापन नहुनेलगायत गैरजिम्मेवारीपनलाई परिवर्तन नगरी निगम अघि बढ्न सक्दैन’ उनले भने । साथै उनले निगमको अवस्था समग्रमा गौरव गर्न लायकको बनाउन कर्मचारीलाई तालीम दिने तथा यात्रुको सेवामा सुधार गर्न सुझाव दिए ।

आचार्यले वायुसेवा निगमले विमान थप गरेर अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जानुपर्ने बताए । सो अवसरमै उनले दुई ‘वाइड’ र दुई ‘न्यारो बडी’का जहाज खरिद गर्न १५ दिनभित्र सञ्चालक समितिले निर्णय गरेर प्रस्ताव ल्याउनसमेत निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका कायमुकायम सचिव रञ्जनकृष्ण अर्यायले निगममा जहाजको संख्या बढाएर यसको सेवा र सुविधालाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । सो अवसरमा निगमका महाप्रवन्धक मदन खरेलले यसै वर्ष आन्तरिक उडानका लागि ६ र अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा विमान आउने जानकारी दिए ।

‘सन् २०२४ सम्म दश वर्षे व्यावसायिक योजनाअन्तर्गत आन्तरिक १६ र बाह्य उडानका लागि १५ विमानबाट सेवा दिने लक्ष्य राखेका छौं’ उनले भने । कार्यक्रममा नेपाल एअरलाइन्स पाइलट एसोसियसनका अध्यक्ष मधुवनलाल श्रेष्ठ, कर्मचारी सङ्घका अध्यक्ष थानेश्वर शर्मा, कर्मचारी युनियनका अध्यक्ष राजन उप्रेतीलगायतको सहभागिता रहेको थियो ।


  •  
  •  
  •