काठमाडौं, १४ मंसिर (ओएनएस) । नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार नै १२ औं महाधिवेशन गर्नुपर्ने जोड दिएका छन् ।
शुक्रबार काठमाडौंमा नेता रामचन्द्र पौडेल समूहका विद्यार्थीले आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले संघको विधान सम्मेलन गरेर मात्रै १२ औं महाधिवेश गर्नुपर्ने माग गरे ।
उनले भने, ‘बहुमत केन्द्रीय सदस्यहरुको भावना र विधानको विपरित तोकिएको १२ औं महाधिवेशनको मिति आफैँमा कमजोर छ, घोषणा गरेको मिति महाधिवेशन गर्नको लागि होईन, मैदानबाट आएका नेविसंघका प्रतिनिधिहरुबाट आगामी नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हामी छौं ।’
परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको भनाइ छ । उनले भने,‘हालै परिमार्जित भएर आएको संघको विधानले पनि विद्यार्थीको हित गर्न सकेको छैन्, निर्वाचित स्ववियु सभापति र इकाई अध्यक्षहरुले स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ, दोस्रो कुरा अधिवेशन सम्पन्न गराउने जिल्ला अध्यक्ष र इकाई अध्यक्षहरु ३२ वर्ष माथिकाले पनि महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ ।’
प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरु छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले संगठनमा असमानताको स्थिति सिर्जना गर्ने पनि उनको चिन्ता छ ।
अर्का नेता मनोजमणी आचार्यको टिमले संघको महाधिवेशन गर्नको लागि आर्थिक खर्च पार्टीले ब्यहोर्ने परम्परा भएको जानकारी दिँदै संघका अध्यक्ष नैनसिंह महरले आफूखुशी अर्थ संकलन गरेको आरोप लगाए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य तेज बाँनिया, कल्पना खड्का र भोला नेपालले संघको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिए ।