रक्षा रेग्मी
काठमाडौं, १९ भदौ (ओएनएस) : नेशनल ट्रेडिङ लिमिटेडमा साढे दुई करोड रुपैयाँ बराबरको मिति नाघेको सामग्री रहेको खुलासा भएको छ । वाइन, वियर, स्याम्पेनलगायत सामग्री मिति नाघेको ट्रेडिङले बताएको छ । यी सामग्रीहरु ५ वर्षदेखि थन्किएको निमित्त महाप्रबन्धक सत्यनारायण मेहेताले बताए । ‘समयमै बिक्री गर्न नसक्दा साढे २ करोड रुपैयाको उपभोगय सामानको मिती सकिएको छ,’ उनले भने ।
ट्रेडिङका अनुसार २०६५ सालमा करिव २५ करोड रुपैयाँको मदिरा,चुरोटलगायत वस्तु ड्युटी फ्रीमा आयात गरिएको थियो । त्यसलगतै ‘खरिद ऐन २०६३’ लागुभएपछि टेन्डरमार्फत सामान किन्नुपर्ने बाध्यता भएको नेशनल ट्रेडिङले जानकारी दिएको छ । कोटा प्रणालीले गर्दा पनि बस्तु आयात गर्न सक्ने स्थिती नभएको बताइएको छ । ट्रेडिङले आर्थिक अभावका कारण ५ बर्षदेखि नयाँ सामान खरिद गर्न सकेको छैन ।
नेशनल ट्रेडिङ अहिले आर्थिक समस्याग्रस्त स्थितिमा छ । रकम जुटाउन टेकुमा रहेको ५१ रोपनी जग्गामध्ये १५ रोपनी विक्री गर्न प्रक्रिया अगाडी बढाएको थियो । तर वाणिज्य मन्त्रालयले रोकेपछी विक्री हुन सकेन । ट्रेडिङसँग रकम नभएको र घाटा बढ्दै गएपछि बैंक तथा सरकारले समेत ऋण दिन छोडेको मेहेताको गुनासो छ ।
हाल ट्रेडिङले गरेको व्यापारबाट कर्मचारीलाई पारिश्रमिक खुवाउन समेत गाह्रो भइरहेको अवस्था छ । उपदान कोषको रकम समेत कर्मचारीलाई पारिश्रमिक दिइरहेको मेहेताले बताए । ट्रेडिङले अवकास प्राप्त कर्मचारीलाई उपदान दिने भन्दै वाणिज्य मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग १० करोड रुपैयाँ माग गरको उनले जानकारी दिए । त्यस्तै पछिल्लो समयमा विक्री पश्चात रकम भुक्तानी गर्ने व्यवस्था अनुसार केही आयातकर्तासँग सम्झौता गरि समान खरिद गर्दै आएको पनि ट्रेडिङले जानकारी दिएको छ । विहीवार संसदीय समितिमा ट्रेडिङ चलाउने वा खारेज गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।