काठमाडौं । मुस्ताङको कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ।
आइतबार साँझदेखि कागखोलामा लेदोसहित बाढी आएको र कागबेनीका ३१ घर पूर्ण क्षतिग्रस्त तुल्याएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए। उनका अनुसार त्यस क्षेत्रमा शनिबार रातिदेखि नै पानी परेको थियो।
गेग्रानसहितको बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन बगाएको छ।
बाढीले जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतका पोल बगाएको सिडिओ केसीले जानकारी दिए।
तस्बीरहरुः प्रमेश गुरुङ