काठमाडौ, १६ मंसिर(एजेन्सी) : पश्चिमी चीनको शिंजियांग प्रान्तमा सरकारी भवन, स्कुल र कार्यालयमा मुस्लिमहरूलाई प्रार्थना गर्न प्रतिबन्ध लगाइएको छ । यसका साथै मोवाइल फोन र इन्टरनेटको माध्यमबाट राष्ट्रिय एकतामा आँच आउने सन्देश पठाए जरिवाना लाग्नेछ ।
अब रजिष्टर गरिएको धर्मस्थानमा मात्र धार्मिक गतिविधीका लागि अनुमति दिइने छ । नयाँ कानुनका अनुसार चरमपन्थलाई समर्थन गर्ने खालका कपडा लगाउन र चिन्हहरू प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर, कस्तो खालको कपडा लगाउन प्रतिबन्ध लगाइएको भने स्पष्ट गरिएको छैन् ।
यो नयाँ कानुन लागू हुँदा ती मुस्लिमहरूलाई समस्या पर्न सक्छ, जसले कामको बीचमा सरकारी भवनमा नमाज पढ्ने गर्थे । धार्मिक पढाई र कार्यका क्रममा धेरै मुस्लिमहरू मोबाइल र कम्प्युटरको पनि प्रयोग गर्ने गर्छन् ।
स्थानीय धार्मिक संसदमा पास भएको यो कानुन १ जनवरी देखी लागू हुनेछ । यसको राष्ट्रहितका विरूद्ध इन्टरनेट, मोबाइल र डिजिटल सामग्री प्रयोग गर्ने मानिसलाई ५ हजार देखी ३० हजार युआनसम्म जरिवाना लगाइने छ ।