मुस्लिम आयोगको अध्यक्षमा सिफारिस अन्सारीको प्रमाणपत्र छानबिन गरिने

311
  •  
  •  
  •  

काठमाडौं, ७ फागुन(ओएनएस) : संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र संसदीय सुनुवाइ समितिले छानबिन गर्ने भएको छ ।

फाइल तस्बिर

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको छ ।

अन्सारीविरूद्ध समितिमा चार वटा उजुरी परेका थिए । समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो । बैठकमा एक जना मात्र उजुरीकर्ता उपस्थित भएको सुनुवाइ समितिले बताएको छ ।

उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका छन् ।

समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहे–नरहेको कागजात र संवैधानिक परिषदबाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए ।

काठमाडौं महानगरपालिका–९ का स्थायी वासिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए । गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पछि उनी नेकपाका केन्द्रीय सदस्य बने । कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।


  •  
  •  
  •