टीकापुर घटना : ५८ जना विरूद्ध कर्तव्य ज्यान मुद्दा

288
  •  
  •  
  •  

धनगढी, ६ असोज(ओएनएस) : भदौ ७ गते टीकापुरमा भएको हिंस्रक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५८ जना विरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ ।

प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयमार्फत थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू, संघीय सदभावना पार्टीका रेशम चौधरी, थारुकल्याणकारी सभाका कैलाली सभापति लाहुराम चौधरी लगायत ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

कैलाली जिल्ला अदालतका श्रेस्तेदार, उपसचिव जगदीशप्रसाद भट्टले प्रहरी हिरासतमा रहेका २२ र फरार ३६ गरी ५८ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी दिएका छन् । घटना भएको २९ दिनसम्म २२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरेको प्रहरीले उनीहरूलाई अदालतमा पेश गरेको हो ।

प्रहरीका अनुसार थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम, संघीय सदभावना पार्टीका रेशम चौधरी लगायत ३६ जना फरार रहेका छन् । दुवै जना विरूद्ध प्रत्यक्ष हत्यामा संलग्न भएको अभियोगमा मुद्दा दर्ता गरिएको छ भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु, थारुकल्याणकारी सभाका कैलाली सभापति लाहुराम चौधरी लगायत २२ जना प्रहरी हिरासतमा रहेका छन् ।

५८ जना विरुद्ध कर्तव्य ज्यान मुद्दाका साथै डाँका चोरी र ज्यानमार्ने उद्योग गरी तीन मुद्दा दर्ता गरिएको श्रेस्तेदार भट्टले बताए । उनका अनुसार हतियार लुटपाट भएकोमा डाँका, चोरी तथा घाइतेहरूको तर्फबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

अदालत पेश भएका आरोपीहरुमा फोरम लोकतान्त्रिक क्षेत्र नम्बर ३ का अध्यक्ष रामप्रसाद चौधरी, मुनुवा १ कञ्चनपुरका रामकुमार कठरिया, सुन्दरलाल कठरिया, दीलबहादुर चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, भजनी‍-त्रिशक्ति नगरपालिका पडरियाका प्रेमबहादुर चौधरी, थापापुर गाविस नवलपुरका राजेश चौधरी, सोही गाविस खैराका सन्तराम चौधरी, किशनलाल चौधरी, नवलपुरका वृजमोहन डंगौरा, गोडचौराका जीतबहादुर डगौंरा, टीकापुर ३ नुकलिपुरका रामनरेश चौधरी र ठानापुरका वीरबहादुर चौधरी, थापापुर गाविस खैराका नरुलअली जागा लगायत रहेका छन् ।

गत भदौ ७ गते नेपाल प्रहरीका एक एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालक गरी नौ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले मुद्दा दायर गरेको हो । टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको थियो । सो घटनापछि कैलाली जिल्ला अशान्त भएको छ । प्रशासनले टीकापुर लगायतका स्थानलाई दंगाग्रष्ट क्षेत्र घोषणा गरी कफ्र्यु लगाउँदै आएको छ ।


  •  
  •  
  •