हनुमानलाई अतिक्रमण हटाउन नगरपालिकाको निर्देशन

230
  •  
  •  
  •  

hanumanकाठमाडौ, २४ जेठ(एजेन्सी) : मध्य प्रदेशको भिन्ड जिल्लामा नगरपालिकाले हनुमानमाथि सूचना जारी गर्दै अतिक्रमण हटाउनका लागि एक हप्ताको समय दिइएको छ । यति अतिक्रमण नहटाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

भिन्ड जिल्लाको बजरिया क्षेत्रमा किला रोड नजिकै हनुमानको एक मन्दिर रहेको छ । मन्दिरको केही भागले अतिक्रमण गरेको पाइएको छ । ग्वालियर उच्च अदालतले पनि अतिक्रमण हटाउनका लागि निर्देशन दिएको थियो । यसपछि नगरपालिकाले मन्दिरका पुजारी र यसका ट्रस्टलाई नभई हनुमानको नाममा सूचना जारी गरिएको छ । सूचना शुक्रबार मन्दिरमा टाँसिएको थियो ।

उक्त सूचनामा अनुमानलाई सम्बोधन गर्दै भनिएको छ, ‘तपाईले सडकमा गैरकानुनी रूपले कब्जा गरिरहनु भएको छ । यसले गर्दा आम जनताले दुःख पाएका छन् । दुर्घटनाको पनि खतरा बढेको छ । तपाईसँग पहिले पनि अतिक्रमण हटाउनका लागि भनिएको थियो, त्यो तपाईले गर्नु भएन । ग्वालियर उच्च अदालतले पनि आदेश दिएको थियो, जुन तपाईले मान्नु भएन । तपाईविरूद्ध अदालतको अवहेलनाको मुद्धा पनि चलिरहेको छ ।’

नगरपालिकाद्वारा पठाइएको यो सूचनामा अतिक्रमण हटाउनका लागि एक साताको समय दिइएको छ । यता मुख्य नगरपालिका अधिकारी आरएस छारीले उक्त सूचना गल्तिले जारी भएको छ, यसलाई चाँडै हटाइन्छ भनेका छन् ।


  •  
  •  
  •