नारायणगढ–मुग्लिन ३० किमी गुड्न ४ घन्टा

104
  •  
  •  
  •  

काठमडौं ३१ बैशाख ।
बिहीबार बिहान पाँचै बजे पोखराबाट भैरहवाका लागि छुटेको लु१ख ७२०१ नम्बरको यात्रुबस करिब सय किलो मिटर पार गरेर मुग्लिनबजार आइपुग्दा सवा सात बजेको थियो।

त्यही बसले मुग्लिनबाट करिब ३० किलोमिटर टाढा रामनगरसम्मको दुरी पार गर्दा सवा ११ बज्यो । राजमार्गको यात्रा जम्मा ३० किमी पार गर्न झन्डै चार घन्टा लाग्नुको प्रमुख कारण थियो– सवारी जाम।

‘तीन घन्टाजस्तो जाममा परियो, अझै बढी कुर्नुपर्ने हो कि भन्ने पिर भो,’ बसका चालक चालक नेत्रलाल थारुले अनुभव सुनाए, ‘यो त अझ कम हो।’

बिहानपख पानी परेकाले उनी लामो जाममा परिने पो हो कि भन्ने त्रासमा थिए। यो रुटमा १० वर्षदेखि गाडी चलाउँदै आएका थारु सामान्य अवस्थामा एक घन्टामा बाटो पार गर्थे। यो खण्डमा पाँच घन्टाभन्दा पनि लामो जाममा परेको अनुभव छ उनीसँग।

जामको सास्ती नेत्रलालजस्ता चालकलाई मात्र होइन, राजधानीलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार सुरु भएसँगै यात्रुले अत्याशलाग्दो जाम सामना गर्नुपरिरहेको छ।

उक्त खण्ड बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म घोषित रूपमै बन्द हुन्छ, निर्माण कार्यका लागि। त्यसबाहेक अन्य समयमा पनि त्यहाँ यात्रा सहज छैन। सामान्य बेलामा एक घन्टामा पार गर्न सकिने उक्त सडक छिचोल्न अचेल घन्टौं लाग्ने गरेको यात्रु सुनाउँछन्।

उक्त सडक खण्डमा बिहान ११ बजेदेखि ३ बजेसम्म अरु गाडी ठप्पै भए पनि एम्बुलेन्सलगायत अत्यावश्यक गाडी भने चल्छन्। तर, सडकमा काम भइरहेका बेला एम्बुलेन्स पनि रोकिनुपर्ने बाध्यता छ।

बुधबार दिउँसो घुमाउने भन्ने स्थानमा काम भइरहेकोले मोटरसाइकल, साना गाडी र दायाँ–बायाँ गरेर पाँच एम्बुलेन्स करिब आधा घन्टा जाममा परे। ‘कहिलेकाहीँ त यो बाटोमा एम्बुलेन्स पनि पाँच घन्टासम्म जाममा पर्छन्,’ भरतपुरबाट सुत्केरी लिएर गोरखा जाँदै गरेका ना३च ५५९५ नम्बरको एम्बुलेन्स चालक सञ्जय देउजाले भने।

सडक निर्माण सन् २०१७ अप्रिलमा सक्ने लक्ष्यसाथ गत वर्ष काम सुरु भए पनि अहिलेसम्म आधा पनि काम सकिएको छैन। नारायणगढ– मुग्लिन सडक खण्ड ३६ किमी लामो छ। मुग्लिनभन्दा अगाडि गोरखासम्म पुगेको यो सडकले मुग्लिनमा काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग छुन्छ।

४४ वर्षअघि सन् १९८२ मा चीन सरकारको सहयोगमा बनेको यो बाटो दुई लेन पनि थिएन। नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा अहिले यस सडकको स्तरोन्नति हुन लागेको हो। निर्माण पूरा भएपछि यो सडक एसियाली मापदण्डअनुसार दुई लेनको हुनेछ। तीन खण्ड बनाएर फरक–फरक कम्पनीलाई ठेक्का दिइएको यो सडक बनाउन करिब ३ अर्ब खर्च हुने अनुमान छ। नागरिकबाट


  •  
  •  
  •