मुगुमा भारी हिमपात(फोटो फिचर)

596
  •  
  •  
  •  

मुगु । हिमाली जिल्ला मुगु लगायत कणालीका सबै जिल्लामा भारी हिमपात भएको छ । बिहीबार देखि हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छ ।          

लगातारको हिमपातले मुगु जिल्लाको पुर्वी करान भेगका ९ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत, सोरु गाउँपालिकको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिको रारा, ताल्च विमान स्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायतका स्थानमा एक फिट सम्म हिउँ जमेको छ ।

हिमपातको कारण नेपालगञ्ज सुर्खेतबाट मुगु आउने यातायात र सवारी साधनहरु जुम्ला जिल्लाको गोठी ज्यूला र कालीकोटको नाग्मामा अलपत्र परेको छन् ।

रारा घुम्न आउर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि निकै समस्या भएको छ ।  अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भएपनि यो वर्ष एक महिना अगाडी नै हिमपात सुरु भएको थियोे ।

हिमपात सँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् ।  चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचाै‌ँपायालाई समेत समस्या भएकोे सोरु गाउँपालिकाका पदम बहादुर शाहीले बताए ।

बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यलयको कामकाज प्रभावित भएको छ । नीजि विद्यालय, रारा डाईनामिक स्कुलको शुक्रबारको अर्धवाार्षिक परीक्षा हिमपातका कारण बन्द भएको रारा डाईनामिक विद्यालयका प्रध्यानाध्यापक कमल शाहीले जानकारी दिए ।

दुई दिन देखि हवाई सेवा ठप्प

हिमपातले मुगुको एक मात्र हवाई सेवा ताल्च विमानस्थल बन्द भएको छ । हिमपात र बाक्लो हुस्सुका कारण हवाई सेवा बन्द भएको छ ।


नाग्म गमगढी सडक पनि बन्द भएको छ । अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको नाग्म गमगढी सडक पुनः बन्द भएको छ । सडक यातायात र हवाई सेवा बन्द हँुदा यात्रु अलपत्र परेका छन् ।

इन्टरनेट सेवा बन्द

नेपाल टेलिकमको एडिसियल ईन्टरनेट सेवा बन्द भएको छ ।

बाक्लो हिमपातले जुम्लाको डाफेँ लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछि मुगुसहित साविको कर्णालीका जिल्लामा एडिसियल इन्टरनेट सेवा,नमस्ते मोबाईल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसीले बताए ।

किसान भने खुसी

यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी छन् । विशेषगरि अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ ।


अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसँग उम्रिने, विषेशगरि उम्रेको बाली नष्ट गर्ने फट्याङगा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगु निमित्त पन्चलाल बुढाले जानकारी दिए ।


  •  
  •  
  •