मुगुका दुई स्थानीय तहलाई सडक हस्तान्तरण

77
  •  
  •  
  •  

मुगु, ३० फागुन(ओएनएस) : ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माण सम्पन्न गरेर मुगु जिल्लाका दुई स्थानीय तहलाई सडक हस्तान्तण गरेको छ ।

गमगढी धैना – धुलाचौर सडक खण्डको गमगढी ग्रिलाहसम्म २२.७५० किमी सडक निर्माण सम्पन्न गरेर स्थानीय तह छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकालाई सडक हस्तान्तण गरिएको हो ।

ग्रामीण पहुँच कार्यक्रमद्वारा छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिका जोड्ने सडक अक्टोबर २०१३ बाट निमार्णकार्य शुरु गरिएको थियो । सडकको एक औपचारीक कार्यक्रम गरी छायाँनाथ रारा नगरपालिकाको भू–भागमा पर्ने सडक नगरपालिकालाई हस्तान्तण गरिएको छ, भने सोरु गाउँपालिका भू–भागमा पर्ने सडक गाउँपालिकालाई हस्तान्तण गरिएको हो ।

अक्टोवर २०१३ सालमा निर्माण शुरु गरिएको गमगढी धैना–धुलाचौर सडक खण्ड अन्तर्गत गमगढी ग्रीलाह सडकको निमार्ण कार्य जनवरी २०१९ मा आएर निर्माण सम्पन्न भएपछि उक्त गाउँपालिकालाई हस्तान्तरण गरिएको ग्रामीण पहुँच कार्यक्रम र्‍याप थ्रिका फिल्ड परियोजना व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए ।

उनका अनुसार यस सडक २२.७५० किमी लामो रहेको र चोडाई ४.५ रहेको बताउँदै यस सडक निर्माणमा ५५ करोड ५२ लाख ९६ हजार लागत लागेको उनको भनाइ छ ।

सडक निमार्णमा ५५ करोड

गमगढी धैना धुलाचोर सडकको निमार्ण कार्य सम्पन्न गर्न ५५ करोड ५२ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । सडक निमार्णमा स्थानीयको श्रमबाट मात्र सडक निमार्ण भएको हो ।

सडक निमार्ण अवधिभर १ हजार ६ सय ३८ जना कामदारले काम गरेका थिए । सडक निर्माणको मार्ग निर्देशन अनुसार, विपन्न, पिछडिएका, दलित महिलालाई विशेष प्रथामिकतामा राखिएको थियो ।

सडक निर्माण कार्यमा ४१ प्रतिशत महिला २४ प्रतिशत दलित र बाँकी अन्य ठकुरी क्षेत्री ब्राम्हण लगायतको सहभागिता रहेको थियो ।

ज्यालामा पनि महिला पुरुष समान गरिएको पाइएको छायाँनाथ रारा नगरपालिका वडा नं ३ की जानशिला रोकायले बताइन् ।

सडक व्यवस्थापनमा चुनौती

ग्रामीण पहुँच कार्यक्रम र्‍याप थ्रिले एक औपचारी कार्यक्रम गरी सडक स्थानीय तहलाई सडक हस्तान्तण गरेसँगै अब सडक व्यवस्थापनमा चुनौती देखिने जिल्लाका सरोकारवालाहरु बताउँछन् ।

सडक निमार्ण अवधिभर मेसीन प्रयोग नगरी स्थानीयको श्रमबाट सडक निमार्ण गरेर रोजगारी सिर्जनासँगै विकास निर्माण पहिलो खुट्किलो सडकलाई सोरुसम्म जोड्न सहयोग गर्ने बेलायत सरकार र ग्रामीण पहुँच कार्यक्रम र्‍याप थ्रिलाई धन्यवाद दिँदै सरोकारवाला निकायले अब सडक व्यवस्थापनमा चुनौती देखिएको र त्यसको व्यवस्थापन गर्न स्थानीय तह छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकालाई आग्रह गरेका छन् ।

र्‍याप रहुन्जेल सडक रह्यो र्‍याप गएसँगै सडक पनि पछिपछि गयो भन्ने वातावरण सिर्जना नहुन दिन स्थानीय तहले यसको मर्मत सम्हार, सडकको स्तरउन्नतीमा ध्यानदिन कर्णाली प्रदेशसभा सदस्य चन्द्र बहादुर शाही बताउँछन् ।

यता प्रतिनिधिसभा सदस्य मोहन बाँनिया सडक नपुगेको सोरु गाउँपालिकामा सडक जोड्न सहयोग गर्ने ग्रामीण पहुँच कार्यक्रम र्‍याप थ्री लाई धन्यवाद दिँदै विकास निमार्णका काममा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँछन् ।

सकारात्मक सोचबाट विकास हुन्छ । राजनीति खिचातानीले विकास सम्भव नहुने भएकाले मुगु जिल्लाको विकासका लागी सबै राजनीतिक पार्टी एक भएमात्र मुगु जिल्लाको मुहार फेरिने उनको भनाइ छ ।

बेलायत सरकारको अनुदान सहयोगमा सडक निर्माण भएपछि सोरु गाउँपालिका सडक सञ्जालको पहुँचमा जोडिनुका साथै गाउँमै सडक निर्माण भएसँगैै स्थानीयहरुको जिविकोपार्जनमा समेत टेवा पुगेको छ ।  सो सडकलाई स्थानीयहरुले रातदिन लागेर निर्माण गरेका थिए ।

सडकमा डोजरको प्रयोग कुनै ठाउँमा भएको थिएन । सडकको स्तरपनि राम्रो र गुणस्तर भएको र स्थानीहरुको श्रमबाट काम हुँदा प्रत्यक्ष रुपमा स्थानीयलाई फाईदा पुगेको अर्का प्रतिनिधिसभा सदस्य गोपाल बंम बताउँछन् ।

हस्तान्तण कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख, समन्वय समितका प्रमुख, सोरुगाउँपालिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सरोकारवाला निकाय सबैको सहभागीता रहेको थियो ।


  •  
  •  
  •