गोली हानेर एक किसानको हत्या

221
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।
पर्साको पाकाहा मैनपुरमा अज्ञात समुहले गोली हानेर एक किसानको हत्या गरेको छ । पकाहा मैनपुर गाविस–३ का ४५ वर्षीय किसान सतन राउत कम्कडको गोली हानी हत्या भएको हो ।

गत बिहीबार बेलुकी आठ बजे तिर घरबाट अचानक बेपत्ता भएका कम्कडको शव पकाहा मैनपुर गाविस–७ स्थित उखुबारी शनिवार बिहान फेला परेको हो ।

कम्कडको टाउको र छातीमा गोली हानेर हत्या गरिएको अवस्थामा शव उखुरबारीमा फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीले बताए ।

‘टाउको र छातीमा गोली लागेको घाउ छ’ , उनले भने, ‘दाहिने खुट्टा भाँच्चिएको छ ।’ शनिबार बिहान उखुबारीमा शव देखेपछि गाउँलेले इलाका प्रहरी कार्यालय पोखरीयामा खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । जीउमा गोली लागेका घाउहरु देखिएकाले कम्कडको गोली हानेरै हत्या गरिएको प्रनानि त्रिपाठीले बताए ।

उनका अनुसार शव भेटिएको स्थानबाट एक हजार तीन सय मिटर पुर्व रहेको धानखेतमा गोलीको एउटा खोका र मृतकको चप्पल भेटिएको छ । हत्याराले धानखेतमा गोली हानेर शवलाई घिसार्दै उखुबारीमा लगेर फालेको प्रनानि ज्ञिपाठीले बताए ।

हत्या कसले र किन गरेको भन्ने बारेमा केही खुल्न नसकेको उनले बताए । हत्यारले घरबाट लगेर धानखेतमा कम्कडलाई गोली हानेको हुनसक्ने प्रनानि त्रिपाठीले बताए । ‘व्याक्तिगत रिसबीका कारण हत्या गरेको हुनसक्छ’ , उनले भने, ‘हत्याराहरुको खोजी भइरहेको छ ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •