काठमाडौं १९ भदौ ।
आइतबार रातिदेखि हराएका बुटवलका व्यापारी दिनेशप्रसाद श्रेष्ठ मंगलबार नहरको किनारमा मृत भेटिएपछि रूपन्देही तनावग्रस्त बनेको छ। प्रारम्भिक छानबिनमा श्रेष्ठको हत्या भएको आशंकामा प्रहरीले दुईवटा टोली गठन गरी अनुसन्धान थालेको छ। बुटवल उद्योग वाणिज्य संघले बुधबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापनपत्र बुझाई श्रेष्ठको हत्यारा तत्काल पत्ता लगाउन र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ।
बुटवलको राममन्दिरस्थित महेश स्टोर्सका सञ्चालक श्रेष्ठ बुटवल उवासंघका पूर्वकार्यसमिति सदस्य हुन्। संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार उनी आइतबार राति करिब साढे १० बजेतिर बुटवलको बसपार्कस्थित डार्सिज होटेलमा खानपिनपछि बुटवलको पाल्पारोडस्थित निवासतर्फ हिँडेको अभिलेख होटेलको क्यामेरामा कैद छ। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भए। मंगलबार खोजतलासका क्रममा उनको शव तिलोत्तमा नगरपालिकास्थित मौवाबारीनजिक नहर किनारमा भेटिएको थियो। कपडा र जुत्ता शरीरमा रहेको, टाउकोमा गहिरो चोट लागेको, घाँटीको हड्डी भाँचिएको, टाउकोमा रगत जमेको अवस्थामा उनको शव फेला परेको थियो।
संघले रूपन्देहीमा हत्या, डकैती, लुटपाट, चोरीजस्ता आपराधिक क्रियाकलाप पटकपटक दोहोरिएकाले स्थानीय प्रशासनले शान्तिसुरक्षा प्रदान गर्न अक्षम भएको भन्दै ज्ञापनपत्रमा तीव्र असन्तुष्टि जनाएको छ। श्रेष्ठको मृत्युका सम्बन्धमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुटवलले प्रहरी निरीक्षक केदार पन्तको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरी काम थालेको प्रहरी निरिक्षक सोम थापाले बताए।
धकधईस्थित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गर्न मंगलबार रूपन्देही आएका पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी बमबहादुर भण्डारीले बुधबार घटनास्थल र होटेल अवलोकन गरेका छन्। उनले घटनाको अनुसन्धान गर्न एसपी राजेन्द्र ढकालको संयोजकत्वमा टोली गठन गरी काम अगाडि बढाउने आश्वासन व्यवसायीलाई दिएका छन्। अन्नपूर्णपोष्टबाट