सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा

58
  •  
  •  
  •  

काठमाडौं । सुर्खेतको एक सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

चौकुने गाउँपालिका–१ स्थित कोटदरबार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष बलबहादुर कठायतविरूद्ध अख्यिारले बुधबार मुद्दा दायर गरेको हो ।

७९ हजार रुपैयाँ बिगो कायम गरी उनीमाथि आर्थिक अनियमितता गरेको विषयमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिए ।

साविकको लगाम गाउँ विकास समिति वडा नम्बर ५ मा पर्ने कोटदरबार सामुदायिक वन उपभोक्त समूहको अध्यक्ष रहँदा समूहको रकम हिनामिना गरेको उजुरीका आधारमा उनीमाथि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

समूहको निर्णयबिना रकम निकाली बिलभर्पाइ बनाएर हिनामिना गरेको, वन हेरालुलाई तोकिएको भन्दा बढी रकम दिएको फर्जी भर्पाइ बनाएर पेश गरेको विषयमा तत्कालीन अध्यक्ष कठायतविरूद्ध अख्तियारमा उजुरी परेको थियो ।

उनले कामै नगरेका व्यक्तिहरूको फर्जी भर्पाइ बनाएको र वन हेरालुलाई तोकिएको भन्दा धेरै पारिश्रमिक बुझेको भर्पाइ बनाएर ७९ हजार रुपैयाँ आर्थिक अनियमितता गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूर गरेको प्रमाणित भएकाले बिगो कायम गरी कानुन अनुसार सजाय तथा हिनामिना गरेको रकम असुलउपरको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

हेर्नुहोस् विज्ञप्ति

 


  •  
  •  
  •